कविता -:अमूर्त प्रेमको चिता


म तिमीलाई प्रेम दिन खोजिरहेँ,

तिमी मौन भयौ—

बुझ्नै नसकिने कुनै रहस्यझैँ,

वा सम्भवतः, बुझ्नै नचाहिने एक अव्यक्त कथा।


तिमी मेरो चेतनामा स्थिर छ्यौ,

समयको भेलसँगै बगिसक्यौ,

समात्न खोज्दा— उडिरहेको गगनझैँ टाढा,

छुन खोज्दा— मधुर सपना जस्तै ओइलाइदिने।


मैले तिमीलाई मनको घाम दिएँ,

तिमीले त त्यसलाई अस्ताउँदो क्षितिज बनायौ,

मैले आशाका फूल चढाएँ,

तिमीले ती फूलहरूलाई समयको खरानीमा बदल्यौ।


प्रेमलाई शब्दहरूमा तौलिन सकिँदैन भन्छन्,

तिमी त मौनताको भारी बोकेर हिँड्यौ,

के प्रेम साँच्चै भारिलो हुन्छ?

या त प्रेमले केवल बहानाहरू खोज्छ? 


आज प्रेम दिवस छ,

गगन अँगालोमा सूर्य छ,

मानिसहरू चुम्बन र फूल साटिरहेका छन्,

आज म?— म त केवल

तिम्रो सम्झनाको चिता तापिरहेछु।


विनोद विवश

गौँसला,मोरङ