२०७२/१०/२३
अयोग्यहरुलाई जिम्मा दिएर गाली गर्न मिल्दैन
सत्र सालमा आफ्नो हातमा शासन लिएको अपराध(?) देखाएर राजा महेन्द्रको नाम संग नै चिढ राख्नेहरुको हातमा शासन भएको लामो समय भैसकेको छ ।
यो लामो समय केवल घोषित र अधोषित संक्रमणकाल मै वितेको छ । ६ बैसाख २०४७ मा बहुदलिय व्यवस्थाका प्रधानमन्त्रीको रुपमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए यता २१ पटक सरकार प्रमुख परिवर्तन भई सकेको छ ।
एक पटक राजाले प्रत्यक्ष शासन लिएको घटाउदा २० पटक दलका नेताहरुको हात मै सत्ता रहेको छ ।
बहुदलको कालमा पञ्चायतमा कहिले नसुनिएको सरकारको ‘मधुमास काल’ पनि नेपालीले प्रयोग गर्दैछन । करिव तीन महिनाको यो मधुमासकाल सरकारले स्वच्छन्द काम गनै पाउने भ्रम छरिएको छ । बीस सरकारले जनताको बहुमुल्य साठी महिना अर्थात करिव पाँच बर्ष त यस्तै मघुमासमा खर्च गरिसक्यो ।
त्यसपछि हरेक संरचनामामा आफ्नो अनुकुलका व्यक्तिको नियुक्तिको क्रमले सत्ता परिवर्तन हैन व्यवस्था परिवर्तनको झलक दिएको नेपाली जनताले भोग्नु परेको छ । यति गरेर एक सरकार बल्ल आफ्नो अनुकुल वातावरण बनाउछ त्यसपछि सरकार बदल्ने परिस्थिति आई हाल्छ ।
एक व्यक्तिले जन्म लिएर युवा हुने समयसम्मको यो अस्थिरताले नेपाल जर्जर भै सकेको छ । कुनै वेला आधा बिहार र आधा उत्तर प्रदेशलाई खाद्यान्न निर्यात गर्ने नेपाल अहिले भारतको खाद्यान्न वेगर एकहप्ता पनि बाँच्न नसक्ने अवस्थामा आई पुगेको छ ।
नेपालका हरेक स्थान श्रमिक हात विहिन भएका छन । नेपाली श्रम र शिपले मरुमूमि सरहका मुलुकहरु उन्नत र सुविधायुक्त हुुँदैछन । नेता र सरकार आफ्नो यो अमूल्यनिधी स्वदेशमा रोक्न हैन बरु विदेश मै पठाउन ‘गल्लावाल’को भुमिकामा परिणत भएका छन ।
विदेशमा भएका नेपाली दुतावासहरु मुलुकको गौरव बढाउन र अन्तराष्ट्रिय क्षेत्रमा मुलुकको भूमिका प्रवर्धन गर्न परिचालित छैनन । उनिहरुको जिम्मामा ‘म्यान पावर’ कम्पनीको सहयोजन र दक्ष अदक्ष कामदारको माग पहिल्याउने काम रहेको छ ।
कुनै कालखण्डमा नेपालको विषेश स्थान रहेका क्षेत्रहरुमा अहिले नेपालको अनुपस्थिति छ । यदि कुनै उपस्थिति छ भने यो क्षेत्रको प्रभावशाली मुलुकहरुको सही थाप्ने मात्र छ । भन्दा सुन्दा अप्रिय लाग्छ तर विश्वमा नेपालीले कमाएको इज्जत र प्रतिष्ठा झगडा र लफडा गर्नेको रुपमा परिवर्तन हुँदैछ ।
नेपाल र नेपालीको यो खस्कदो स्थितिको जिम्मेवार झलक्क हेर्दा अक्षम नेता र तिनीहरुले नेतृत्व गरेका दल देखिन्छन । यसैले वर्तमानमा नेता र दलहरुलाई गाली गर्ने प्रचलन पनि बढेको छ ।
अरु त अरु त्यहि दलका दोश्रा र तेश्रा श्रेणीका नेताहरु पनि आफ्नो नेताहरुलाई गाली गर्न पछि छैनन । हो, नेतृत्वमा अक्षमहरुको बोलवाला छ तर यो यनीहरुको गल्ती पटक्कै होईन । यो गल्ती त क्षणिक लाभको निमित्त जे पनि गर्न र मान्न तैयार हुने नेपाली जनताको नै हो । त्यसैमा ति दोश्रा र तेश्रा श्रेणीका नेताहरु पनि पर्दछन ।
काम गर्न नजान्नेलाई कामको जिम्मा दिंदा भएको हानीको जिम्मेवार त्यो नजान्ने हुँदैन । योग्य र अयोग्य नछुट्याई काम दिने व्यक्तिको हुन्छ । आफ्नो मान्छे हो भन्दैमा कसैले पनि अयोग्य चिकित्सकसंग उपचार गराउदैन । योग्य चिकित्सक जत्तिकै परिई भए पनि उसको रोजाईमा हुन्छ ।
सिकारु चालक भन्ने थाहा भैसकेपछि मेरो मान्छे भनेर मात्र कोहि पनि त्यसले चलाएको सवारीमा यात्रा गर्दैन । तर त्यही व्यक्ति मुलुकको बागडोर भने आफ्नो भएको कारणले मात्र कसैलाई सुम्पन्छ जो अयोग्य छ भने त्यसले गल्ती हैन अपराध गर्दैछ ।
उदाहरणको निमित्त २०१७साल पछिका केही कुराको सम्झना गर्न उपयुक्त हुन्छ । हरेक पटक सरकार परिवर्तन संगै कर्मचारीतन्त्र र राजनैतिक पदहरुमा पहिरो गएको देखेको यो पुस्तालाई संभवत आश्चर्य नै लाग्ला ।
राजा महेन्द्रले निर्वाचित सरकार अपदस्त गरेर आफ्नो हातमा शासन लिंदा कर्मचारीतन्त्र , राजनैतिक पद कतै पनि परिवर्तन भएन । जो जुन स्थानमा थियो त्यसलाई त्यही स्थानमा काम गर्न उनले प्रेरित गरे ।
जजसले आफ्नो पदमा रहेर काम गर्न चाहे तिनीहरुलाई त्यही काम गर्ने अवसर दिईयो । राजालाई आफ्नो मान्छे हैन योग्य मान्छे चाहिएको थियो ।
मुलुक र सरकार आफ्नो पेवा हैन सबैको साझा हो त्यसैले उचित मान्छेले उचित स्थानमा बसेर काम गर्न पाउनु पर्दछ । यो उनको धारण र कार्यपध्दति थियो । यो कुरा उनलाई खलनायक देखाउन प्रचार गरिएका हल्लाहरु संग विल्कुलै मेल खाँदैन ।
तै पनि २०४७ साल पछि पञ्चायती व्यवस्थामा महत्वपूर्ण स्थान लिएर वसेका अनेकौ कर्मचारीतन्त्रका व्यक्तित्वहरु, कुटनीतिज्ञ, प्राध्यापक आदि वास्तवमा दलहरुप्रति वफादार भएको देखिएका थिए ।
आस्थाको आधारमा, आफ्नो विरानोको आधारमा मान्छेलाई स्थान दिईएको भए यो संभव नै हुने थिएन । त्यसैले अयोग्यलाई जिम्मा दिएर उसलाई गाली गर्न नेपाली जनताले छोड्नु पर्दछ । त्यसको स्थानमा आफ्नो विरानो जे भए पनि योग्यलाई बोलाउनु पर्दछ ।
स्वयम्भुनाथ कार्की
विराटनगर १
२०७२।१०।२३
(जनआवाज)




















