कृष्ण प्रधान
सिलिगुड़ी (भारत)
दोस्रो संस्करण पढ़िसकेपछि प्रखर सामाजिक सञ्जालिका बबिता मादेन मकहाँ उनको चर्चित कृति ‘1986 वास हराएपछि’ (दोस्रो संस्करण) चढ़ाउनु मात्र होइन मेरो सुस्वास्थ्यको कामना समेत गरी मदेखि विदा लिइन्। मलाई सम्झना गरी मेरो वासगृहमै आई किताब चढ़ाएर जानु मात्र होइन मेरो सुस्वास्थ्यको कामना गरिदिने चेली बबिता मादेनकन अगाध स्नेहसहित न्यायो शुभकामना। यो किताब हात परेपछि ठ्याक्कै पाँच दिनभित्रमा पढ़िसकेँ,,,,फेरि दोहोऱ्याइ तेहेऱ्याइ तीनपल्टसम्म पढ़ेपछि मेरा सामान्य प्रतिक्रया मात्र।
1986। तमाम् गोर्खाहरूको अस्तित्व र अस्मिताको लड़ाइँ। जसको नाम गोर्खाल्याण्ड आन्दोलन। यो आन्दोलनको उमेर हिसाब गरेर ह्दा ठ्याक्कै अठतीस (३८) वर्षको भञ्ज्याङ् नाँघिसकेको छ। उबेला दस वर्षका हुनेहरू आज अठचालीस पुगिसके, अठचालीसकाहरू छियासी भइसके, सोह्र वर्षेहरू चौवन्नको डिलमा पुगिसके। यो आन्दोलनमा बूढ़ा-बूढ़ीदेखि भुराभुरीसम्म ओर्लेका थिए। आफ्नो अस्तित्व, अस्मिता र स्वतन्त्रको वासको खोजीमा कतिको वास सल्कियो, कतिको गाउँ उजाड़ियो, कतिको सिउँदो पुछियो, कतिले छोरो गुमाए, कतिले पति। कतिको यौवन लुटियो। तर परिणाम के भयो सो ता भुक्तभोगीहरूले नै धेर राम्रो जान्दछन्। 1986 का भुक्तभोगीमध्ये एकजना हुन् बबिता मादेन। यिनी एकजना कवि, उदघोष, सांवादिक पत्रकार तथा सामाजिक सञ्जालिका हुनाका साथसाथै एकजना प्रतिवेद लेखिका पनि हुन्। उनको यस किताब ‘1986 वास हरापछि’मा आत्मकथनकै रुपमा बाल्यकालदेखि युवावस्थासम्मै राजनीतिको नालीबेली बुझ्न थालेकी बबिताले यस कृतिमा उजागार गरेकी पाइऩ्छ मूलतः प्रथमपुरुष दृष्टिविन्दु प्रयोग गरि लेखिएको यस प्रतिवेदनमा प्रतिवेदक (बबिता) स्वयम् नै कथावस्तुको प्रस्तुतिमा अघि सारेको पाइन्छ। यहाँ राखिएका एक्काइसवटा प्रतिवेदनको सम्पूर्ण घटना प्रतिवेदकमाथि केन्द्रिय रहेको पाइन्छ। यसकारण यस प्रतिवेदनमा प्रतिवेदक बबितालाई समाख्याता भन्न सकिन्छ। सङ्कलन गरिएका प्रत्येक प्रतिवेदन पढ़्दै जाँदा कथा पढ़ेजस्तो अनुभव हुन्छ अनि त्यस कथाभित्र व्यथा रुमलिएको पाइन्छ।

संवादिक पत्रकार, सामिजिक सञ्जालिक, कार्यक्रम उदघोषिका तथा कवि बबिता मादेन आफ्नो जाति, भाषा, समाज संस्कृति सुरक्षाको निम्ति अहर्निश छटपटिन्छिन्। पत्रकारको आँखाले समाजमा देखा परेका डाँवाडोललाई यिनी हाकाहाकी विरोध गर्छिन...यो उनको निडर. ढीट स्वाभावको छतछती प्रमाण हो। प्रत्येक प्रतिवेदनको सिरानमै प्रतिवेदनभित्रको कथ्य राखिएको छ (जस्तो- “आधारातमा त्यसरी घरको दैलो ढकढकाउँदा हामी डरले जाराक-जुरुक उठ्यौं। आमाहरू गएदेखि हामी तीनजना नानीहरू साइँलीसँग सुत्थ्यौं। पहिलाबाटै पुलिसको धम्की र क्रियाकलापले त्रसित बनेको त्यो बेला हाम्रो हंसले ठाउँ छोड़िसकेको थियो” (प्रतिवेदन १ चौदह अगष्ट, पृं.सं.१)। यसरी एघारैवटा प्रतिवेदनको सिरानमा राखिएको अंशलाई समाचार पत्रको भाषामा ‘INTRO’ भनिँदोछ। यस ‘INTRO’ शब्दलाई नेपाली भाषामा अनुवाद गर्दा आमुख, मुखड़ा या परिचय हुन्छ। तर ‘INTRO’ शब्द नै मिठो र टेसिलो सुनिन्छ। समाचारपत्रमा भनिने गरेको प्रतिवेदनमा ‘INTRO’ शब्द भन्नु नै कुनै ठूलो कपड़ा दोकानको सो-केश जस्तै नै हो। जसरी बड़े-बड़े कपड़ा दोकानको सो-केशमा लोभिने खाल्का ठूल्ठूला सामग्रीहरू राखिएका हुन्छन्। सोकेशमा आकर्षक लोभलाग्दा सामग्रीहरू देखेर ग्राहक लोभिन्छन्। सोही परी भन्नुपर्दा प्रतिवेदन बबिता मादेनको प्रत्यके प्रतिवेदनको सिरानमा राखेको INTRO आकर्षक, मिठाइलो, टेसिलो मात्र नभएर च्यूँच्यूँलाग्दो...ल्या अब के होला भन्ने एक राश कौतुहल जगाउने खालका छन्। खासमा प्रतिवेदनको ‘INTRO’ ले जम्मै घटनाक्रमको नालीबेली उकेलेको हुन्छ।
प्रतिवेदक बबिता मादेनले आफ्नो प्रतिवेदनमा प्रयोग गरेकी ‘INTRO’ साँच्चै मार्मिक, भयावहका साथै चुकचुकलाग्दो देखिन्छ - “मलाई थाहा छैन घर जल्नुभन्दा अघि नै बोज्यूले त्यो कालो बक्साबाट सुन निकालिन् कि निकालिनन् तर आगोले डढ़ेर अझै कालो भएको अनि ठाउँठाउँमा कुच्चिएको त्यो कालो बक्सा भने धेरै पछिसम्म बोज्यूहरूको घुरेनमा लड़िरहेको थियो” (प्रतिवेदन १५ बोजूको कालो बक्सा, पृं.सं. ६८)। त्यसरी नै, “यो लड़ाइँले कसैलाई फाइदा भएऩ। धेरै ज्यान मालको क्षिति त भयो नै, मानवता पनि कलुषित बन्यो। विश्वास, भरोसा, आदरका दोहन भयो। अनेकौंले आफ्नोको साथ गुमाए, धेरैको झिटिमिटि स्वाहा भयो। यति भीषण स्थितिबाट पार भएर गएपछि यदि पहाड़ले यसको स्थायी समाधान हासिल गर्न सकेको भए ती सर्वस्व गुमाउनेहरूको बलिदान व्यर्थ अवश्यै नै जाने थिएऩ।” (प्रतिवेदन १७ खुनको बदला खुन, पृं.सं.७८)। अरु पनि INTRO हेरौं, “हजार सुनौला सपनाहरू सजाएर भर्खरै मात्र प्रवेश गरेको दाम्पत्य जीवनमा यस्तो हुरी आएको थियो जुन हुरीको वेगले सबै सपनाहरू एक झटकामा तहस-नहस पारिदियो। एकजना नवविवाहित स्त्रीका निम्ति यो भन्दा मुस्किल ससय अरु के हुन सक्ला र !” (प्रतिवेदन १८ खुनको बदला खुन, पृं.सं. ८२)। “कैयौं अबलाहरूको त्यो रुघ्न भित्ता, पाखा र कन्दराहरूबाट मानौँ चिच्याइचिच्याइ भनिरहेछ-“हाम्रो पनि कसैले कथा लेखिदिए हुन्थ्यो, कसैले हाम्रो पनि व्यथा लेखिदिए हुन्थ्यो।” !” (प्रतिवेदन २१ ८६ लै दिएका निलडामहरू, पृं.सं. ९८)।
यस सङ्ग्रहमा सङ्ग्रहित एक्काइसवटै प्रतिवेदनहरू रोचक, च्यँच्यूलाग्दा छन्। टिठलाग्दा पनि छन्। कति ता रगत उमाल्ने खालका छन् भने कति चाहिँ बत्तीस दन्त नै क़ड्कड़ाउने खालका छन्। सबैभन्दा ठूलो कुरो प्रतिवेदक बबिता मादेनको INTRO अथवा प्रतिवेदनको सोकेशले सम्पूर्ण घटनाको नालीबेली थाहा गराउँछ। यसकारण आफ्नो प्रतिवेदनमा INTRO राख्नमा प्रतिवेदक सिपालु छिन्। उनको INTRO यस्तो हुन्छ, INTRO पढ़ेपछि जम्मै घटनाक्रमको नक्सा झल्झल्ती देखिन्छ। जसरी गृहिणीले भाँड़ाभित्र पाकिरहेको हजारौं भातका सिताहरूमध्ये एउटै मात्र सिता झिकी मिचेर हजारौं भातका सिता पाके कि पाकेनन् सो छर्लङ्ङै थाहा पाउँछन्। सोही परी बबिताको INTRO रखाइले विषयवस्तु छर्लङ्ङै हुन्छ। यसकारी INTRO राख्नमा प्रतिवेदक बबिता मादेनले ठ्याम्मै कञ्जुस्याइँ गरेकी देखिँदैन। यसको निम्ति बबितालाई भक्कु श्यावाशी। ‘1986 वास हरापछि’ भित्र रहेका एक्काइसवटै प्रतिवेदन पढ़ेपछि उबेला गोर्खाल्याण्ड आन्दोलनका भुक्तभोगीहरू कति रुनेछन्, कति जङ्गिने छन्. कतिले गोर्खाल्याण्ड ल्याउँछु नै भनेर सोझा-सिधा तथा निमुखा जनताहरूलाई आगोमा धकेल्ने नेताहरूलाई अहिले भेटे ता कि ता घाँटी अँठ्याएर ठहरै पार्ने कि चाहिँ घुरेनमै सिरुपातेले छ्वाम छ्वाम काटेर तिनका टुक्रा टुक्रा मासु गिद्धलाई दिन जङ्गिने छन्।
भन्नु उसो होइन, यो गोर्खाल्याण आन्दोलनलाई मैले छेवैबाट देखेको छु। सन् १९८६ ताका म सिलिगुड़ीबाट प्रकाशित हुने दैनिक समाचार पत्र ‘हिमालचुली’-मा उप-सम्पादक (sub-editor) रुपमा कार्यरत् थिएँ। धेरै चोटि न्यूज खबर गर्न पहाड़ चढ़्नुपर्थ्यो। न्यूज पनि डरसिर भएर लेख्नुपर्ने। सत्ताधारी दलको विरुद्धमा केही लेख्यो कि कार्यालयमै आएर धम्की दिइन्थ्यो भने कतिचोटि ‘हिमालचुली’ ठाउँ-ठाउँमा डढ़ाइन्थ्यो। यसरी ‘हिमालचुली’ डढ़ाउँदा-डढ़ाउँदा अन्त्यमा मालिकले हरेस खाएर ‘हिमालचुली’ बन्द गरेका हुन्। साँच्चै यो १९८६ को गोर्खाल्य़ाण्ड पहाड़वासीलाई पिरोल्नुसम्म पिरोलेको छ...उबेला आऩ्दोलनमा सरिक हुनेहरूले आन्दोलनको त्यो चोट कहिल्यै बिर्सन सकेका छैनन्। ‘1986 वास हरापछि’ मा प्रतिवेदक बबिता मादेनले आफूले भोगेकी कुराहरूलाई राखेकी छन्। तर हाम्री बबिता मादेनजस्ता पीरै पीरको झिरमा उनिने कैयन् बबिता मादेनहरू होलान् तिनको पनि बबिता मादेनजस्तै नै प्रतिवेदन लेखिनुपर्छ। मिठो, टेसिलो भाषामा लेखिएका यस सङ्ग्रहभित्र समाविष्ट एक्काइसवटै प्रतिवेदनहरू सरल भाषाशैलीका दृष्टिले विशिष्ट तथा उच्च स्थान ओगटनमा सफल भएको छ। प्रथम पुरुष शैलीमा लेखिएको लेखिएको यस प्रतिवेदनमा गोर्खाल्याण्ड आन्दोलनमा होमिएका त्रसित, पीड़ित प्रतिवेदकको कथा पाइन्छ। यसका अतिरिक्ति ठाउँठाउँमा ठेट नेपाली शब्द प्रयोगले प्रतिवेदनलाई झर्झराउँदो बनाएको छ। ठाउँठाउँमा लेख्य भाषाको ठाउँमा प्रयोग गरिएका कथ्य भाषाले प्रतिवेदनलाई जीवन्त बनाएको छ। प्रतिवेदना सत्य़ घटना प्रयोग गरी विषयलाई क्रमबद्धता दिएकोले प्रतिवेदन अत्यन्तै आकर्ष तथा रोचक भएको छ।
प्रतिवेदक बबिता मादेनलाई यसै फेसबुक मार्फत् के निवेदन गर्न चाहुन्छ भने, यी प्रतिवेदन यथाक्रमले हिन्दी, बङ्ला तथा अङ्ग्रेजी भाषामा अनुवाद गरी किताब निकाल्न सके सुनमा सुगन्ध थपिनेथ्यो। अझ के जानकारी गराउन चाहन्छु भने, यसभित्रका कुनै पनि एउटा प्रतिवेदनलाई बङ्ला भाषामा अनुवाद गर्नेछु। सबै चाहिँ होइन। सबैभन्दा ठुङमार्दो कुरो, प्रतिवेदन तनननन..... लामा छैनन्। सबै छोटा छन्, छरिता छन्। एकै बसाइमा पढ़िसक्ने। छोटोमै धेरै भन्न सक्ने क्षमता बबितामा देखिन्छ। यहाँ भएका एक्काइसवटै प्रतिवेदनबारे विशद रुपमा समालोचनात्मक लेख तयार पार्छु नै। अहिलेलाई प्रतिवेदन बबिता मादेनकन भक्कु शुभेच्छाभिनन्दन।
कृति - 1986 वास हरापछि’
प्रतिवेदन – बबिदता मादेन
चरित्र प्रोडक्सन, थाना डाँड़ा, कालेबुङ
दोस्रो संस्करण, २०२४
सर्वाधिकार @लेखकाधीन
एक हजार प्रति
स्वस्तिका प्रिन्टिङ प्रेस, कालेबुङ
लाइसिंस न. 0917P21452312051
जिएसटी न. 19ASMPK5580FIC
ISBN- 978-964537-4-9
भा. रु. – ३००/-
ने. रु - ४८०/-




















