सिलिगुड़ीको नाटकमाथि मेरो अनुसन्धनात्मक लेख ‘सिलगढ़ीको नेपाली नाटक र रङ्गमञ्च’ छापिए वापत् उपहारस्वरुप (लेखक प्रति) प्रकाशक विजय रुचालको हातबाट गत १० नोभेम्बर२०२४ का दिन दार्जिलिङको गोदुनिस रङ्गमञ्चमा हस्तगत भो। जुन दिन गोदुनिस रङमञ्चमा ‘नेपाली नाट्य विमर्श’ धुमधामले लोकार्पण भएको थियो। यो विशालकाय ग्रन्थ पढ़िसिद्ध्याउऩ मलाई ठ्याक्कै तीस दिन लाग्यो। ९३८ पृष्ठको यो विशालकाय ऐतिहासिक, अनुसन्धनात्कम ग्रन्थ हात परेदेखि सामान्य समय चोर्दै अनि फारो गर्दै पढ़िसिद्ध्याएँ। यस ग्रन्थका सम्पादकमण्डलीहरूमा छन्- प्रधानसम्पादक- प्रा.डा. रामचन्द्र पोखरेल।प्रबन्धकृ डा. माधव बराल, संस्थापक अध्यक्ष निष्ट फाउऩ्डेसन प्रा. लि, काठमाण्डौं। सल्लाहकार प्रा. डा. दयाराम श्रेष्ठ (काठमाण्डौं), अशेष मल्ल (काठमाण्डौं, सरुभक्त (पोखरा). सी.के. श्रेष्ठ (कालेबुङ), पूर्णकुमार शर्मा (असम) अनि प्रेम छेत्री (दिल्ली)। सम्पादक सुन्दर मानन्धर, डा. अशोक थापा, पुरु लम्साल। मूल्य नेपालबाट प्रकाशन प्रति १००० रु. । भारतबाट प्रकाशन प्रति २००० रु। आवरण डिजाइन एस ग्राफिक्स, बागबजार, काठमाण्डौं। कम्प्यूटर श्रेष्ठ कम्प्यूटर सर्भिस, नदीपुर, पोखरा। मुद्रण अण्बर पब्लिकेशन हाउस, नयाँ दिल्ली। ISBN 978-9937-03561-3।
यो अनुसन्धनात्मक ग्रन्थ नेपालको तर्फबाट नेपाल नाट्यप्रतिष्ठान, पोखरा, नेपाल एवम प्रबन्धक डा. माधव बराल, संस्थापक अध्यक्ष, निस्ट फाउन्डेसन प्रा. लि. काठमाण्डौंले प्रकाशनको जिम्मेवारी लिएको देखिन्छ भने, भारत तर्फबाट नेपाल नाट्यप्रतिष्ठान, पोखरा नेपाल एवम् भारतीय नेपाली नाट्यप्रतिष्ठान, सिलगढ़ी, भारतले प्रकाशित गरेको पाइन्छ। यसमा अनुसन्धान खण्ड, कार्यपत्र खण्ड, नाट्यवार्ती खण्ड (प्रा. डा. रामचन्द्र पोखरेल) अनि परिशिष्ट विषयहरू राखिएको पाइन्छ। अनुसन्धान खण्डमा भारततर्फबाट नेपाल लगायत सिलिगुड़ी, सिक्किम, असमका नाट्यविद्वानहरूका अऩुसन्धनात्क लेख राखिएको पाइन्छ भने कार्यपत्र खण्डमा नेपाल, सिलिगुड़ी, खरसाङ, कालेबुङ असम, कलकत्ताका विद्वानहरूद्वारा पोखरमा आयोजित नाट्य सम्मेलनमा प्रस्तुत गरिएका कार्यपत्रहरूलाई ठाउँ दिइएको पाइऩ्छ। नाट्यवार्ता खण्डमा अशेष मल्ल, सुनिल पोखरेल, मनबहादुर मुखिया र केबी नेपालीको गहन वार्ता राखिएको पाइन्छ। परिशिष्ट विजय मल्ल, प्रा. मोहनराज शर्मा, सी. के. श्रेष्ठ, खगराज शर्मा आचार्य, विजय विष्फोट, कृष्ण शाहा ‘यात्री’,ज्ञानबहादुर छेत्री, कृष्ण उदासी, थमन नौबाग, जी. के. शर्मा र विष्णु शास्त्रीजस्ता विद्वान नाटककारहरूको उत्कृष्ट नाटकहरूलाई ठाउँ दिएर...नाटकको शीर उठाइएको छ।
कालेबुङ निवासी वरिष्ठ नाट्यकर्मी तथा नेपाल नाट्यप्रतिष्ठान, पोखरा नेपालका सल्लाहकार सी. के श्रेष्ठले आफ्नो प्रतिवेदनमा नेपाली नाट्यवाङमयको ऐतिहासिक दस्तावेज प्रस्तुत गर्ने निहुँमा यस ग्रन्थ प्रकाशनले भारत नेपालको नाटक र रङमञ्चको सेतुका रुपमा काम गर्नेछ भन्ने हिमाल जत्रो आशा व्यक्त गर्नाका साथै निर्विघ्न रुपमा खोज र अनुसन्धान भइरहोस् भन्दै यस अभूतपूर्व काम अनुसऩ्धानरत् रहन सकोस् भन्ने सतत् कामना व्यक्त गर्दै प्रार्थना समेत गरेका छन्।
प्रधानसम्पादक प्रा. डा. रामचन्द्र पोखरेलले आफ्नो सम्पादकीयमा नेपाली नाटकको विकासक्रममाथि नालीबेली केलाउनुका साथै मनोविश्लेषणात्मक नाटकको सैद्धान्तिक आधार प्रस्तुत गर्दै मनोविश्लेषणात्मक नाटक, मनोविश्लेषणात्मक नाट्यचेतना, विसङ्गतिवादी नाटकको सैद्धान्तिक आधार, विसङगतिवादी नाटकको विकासक्रम, विसङ्गतिवादी नाट्यचेतना, सामाजिक यर्थार्थवादी नाटक, प्रगतिवादी नाटक, पौराणिक र ऐतिहासिक नाटक, गीतिनाटक, रेडियो नाटक, अनूदित नाटक, युगचेतना कालको नाट्यचेतना, प्रयोगवादी नाटक, प्रयोगवादी नाट्यलेखनको अन्तरराष्ट्रिय पृष्ठभूमि, प्रयोवादी नाट्यलेखनको राष्ट्रिय पृष्ठभूमि, प्रयोगवादी नाटकको विकासक्रम, प्रोयगवादी नाट्यचेतनामाथि विद्वतापूर्ण, खोजपूर्ण लेखोट आफ्नो सम्पादकीयमा प्रस्तुत गरेर प्रधानसम्पादक प्रा. डा. रामचन्द्र पोखरेललाई चित्तपर्दो, ठुङमार्दो सम्पादकीय तथ्य प्रस्तुत गर्नमा कुनै कञ्जुस्याइँ गरेको देखिन्न। आफ्नो सम्पादकीय कलममै नेपाली सर्वचर्चित नाट्य घर सर्वनामले गरेको नाट्य योगदानको बेलिविस्तार लाएका छन्। त्यसबाहेक पनि सड़क नाटकको पृष्ठभूमि केलाउँदै सड़कनाटकको आरम्भ, नेपालमा सड़कनाटकको आरम्भ विस्तार. सड़कनाटकको नाट्यचेतना. विज्ञान नाटक, गीतिनाटक, रेडियो नाटक सामाजिक नाटक, उत्तरआधुनिक नाटक अन्तर्गत उत्तरआधुनिक नाट्यलेखनको पृष्ठभूमि, उत्तर आधुनिक नाटकको विकासक्रम, उत्तरआधुनिक नाट्यचेतना, प्रगतिवादी नाटक अऩ्तर्गत प्रगतिवादी नाटक, सङ्केत नाटक, नारी चेतनाका नाटक, कचहरी नाटक, समसामयिक नाटक अऩ्तर्गत समासामयिक नाट्यप्रवृत्तिकको पृष्ठभूमिको साङ्गोपाङ्गो वर्णन नाटकमाथि यिनको विशाल ज्ञान सम्पादकीयमा प्रस्तुत गरेर प्रधानसम्पादक प्रा. डा. रामच्रन्द्र पोखरेले टाटो मार्ने काम गरेको देखिँदैन। सम्पादकीय गहन छ...ऐतिहासिकपूर्ण छ।
१२४ पृष्ठमा लेखिएको यो लम्बेतान सम्पादकीय सम्भवत: सबैभन्दा लामो सम्पादकीय.हो भन्ने मेरो दाबी छ। अहिलेसम्म प्रकाशित यस्ता अनुसन्धनात्मक ग्रन्थमा यति लामो सम्पादकीय लेखिएको मलाई थाहा छैन। सम्पादकीय साँच्चै खोजपूर्ण छ। जे होस्, नचिताउने परिश्रम गरेर तयार पारिएको यो ‘नेपाली नाट्यविमर्श’ खोजपूर्ण, सङ्ग्रहणीय भएको कुरा नस्वीकारी धर छैन। तर यस ग्रन्थमा मिरिक, तीनधारेमा लिखित र मञ्चित नाटकबारे कुनै अनुसन्धान लेखले ठाउँ पाएको देखिँदैन। आगामी दिनमा यस विषयतर्फ सम्पादकमण्डलीले ध्यान दिनेछन् भन्ने कुरामा सोह्रै आना आश्वस्त र विश्वस्त छु कृष्ण प्रधानले बताएका छन् ।




















