विराटनगर। मोरङ क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार जीवन घिमिरेले पहिलो चरणको घरदैलो अभियान सम्पन्न गरेका छन्। उनले फागुन १३ गतेसम्म क्षेत्रका २३ वटै वडामा घरदैलो कार्यक्रम सम्पन्न भएको जानकारी दिए।
उम्मेदवार घिमिरेका अनुसार अभियानका क्रममा करिब २० हजारभन्दा बढी मतदानको घरधुरीमा पुगिसकेको बताएका छन । घरदैलोका दौरान मतदातासँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या, गुनासा तथा सुझाव संकलन गरिएको उनले बताए ।
अभियानलाई व्यवस्थित बनाउन २३ वटै वडामा परिचालन समिति गठन गर्नुका साथै क्षेत्रीय परिचालन समिति, प्रचारप्रसार, सामाजिक सञ्जाल, युवा, महिला तथा पेशागत क्लस्टरमार्फत कार्यकर्तालाई टोल–टोलमा परिचालन गरिएको जनाइएको छ। करिब ३ हजार सक्रिय कार्यकर्ता अभियानमा खटिएको घिमिरेले दाबी गरेका छन् ।
वडा स्तरमा आयोजित सभाहरू तथा घरदैलो कार्यक्रममा उल्लेखनीय जनसहभागिता देखिएको र मतदाताबाट न्यानो स्वागत तथा समर्थन प्राप्त भएको घिमिरेले बताए ।
पहिलो चरणको अभियान सम्पन्न भएसँगै अब दोस्रो चरण अन्तर्गत टोलस्तरीय भेला,  अन्तरक्रिया तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने घिमिरेले पत्रकार सम्मेलनमा जानकारी दिए ।