इटहरी।बालेन शाहले उद्योग खोल्न नेताको ढोका चहार्नुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेका छन्।
इटहरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको ‘हामी आयौं’ परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले नयाँ उद्योग सञ्चालन गर्न १० जनासम्म नेतालाई ढोग्नुपर्ने विकृत प्रणाली अन्त्य गरिने बताएका छन्।
उनले सभामा चिया खानुभयो खाजा खानुभयो ?भन्ने शब्द बोल्दै देशकै पहिलो उद्योग कलकारखाना स्थापना भएको क्षेत्रमा समेत नयाँ फ्याक्ट्री खोल्न राजनीतिक दबाब र कर्मचारीतन्त्रको झन्झट झेल्नुपर्ने अवस्था रहेको उल्लेख गरे। नयाँ उद्योग खोल्न १० नेतालाई ढोग्नुपर्छ, कर्मचारीलाई फकाउनुपर्छ, अनि बल्ल फ्याक्ट्री चल्छ। चल्न थालेपछि फेरि आतंक सुरु हुन्छ। अब यो प्रणाली हटाउनुपर्छ,” उनले भने।
बालेनले औद्योगिक सम्भावना हुँदाहुँदै उत्पादन वृद्धि हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे। देशभित्रै उत्पादन बढाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने र नागरिकलाई स्वदेशी उत्पादन उपभोग गराउने लक्ष्य रास्वपाको रहेको उनको भनाइ थियो।
पूर्वमा खेल सम्भावना, तर पूर्वाधार अभाव
पूर्वी नेपालबाट ६०–७० प्रतिशत फुटबल खेलाडी उत्पादन हुने दाबी गर्दै उनले खेल मैदान र रंगशाला अभावमा प्रतिभा ओझेलमा परेको बताउँदै राम्रो खेलाडी बन्न कम्तीमा १० हजार घण्टा अभ्यास आवश्यक पर्ने उल्लेख गर्दै उनले अभ्यासका लागि आवश्यक संरचना निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।
सभामा उनले ‘सिलाम साक्मा’ले मानिसलाई कालबाट जोगाएझैँ आफूहरूले देशलाई जोगाउने संकल्प लिएको उल्लेख गर्दै राजनीतिक शुद्धीकरण र संरचनागत सुधार नै अबको मुख्य एजेन्डा हुने बताए।




















