विराटनगर । विराटनगरबाट काठमाडौं जाँदै गरेको माइक्रो बसलाई काठमाडौंबाट जनकपुर आइरहेको इभीले ठक्कर दिंदा १६ जना यात्रु घाइते भएका छन् ।
माइक्रो बसलाई विपरित दिशाबाट आइरहेको इभीले खुर्कोट बजारबाट डेढ किलोमिटर पर सुनकोशी मरिन डाइभर्सन नजिकै ठक्कर दिंदा बालबालिकासहित दुवै सवारी साधनका १६ जना यात्रु घाइते भएका हुन् ।
दुईजनाको अवस्था गम्भीर रहेकोले उनीहरूलाई भने उपचारका लागि काठमाडौं लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
अन्य घाइतेहरूको खुर्केटस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको र उनीहरूलाई पनि थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको जनाइएको छ ।
दुर्घटनामा माइक्रोका चालक दिपक कार्कीको खुट्टा भाँचिएको जनाइएको छ । उनको पनि सामुदायिक अस्पतालमै प्राथमिक उपचार भइरहेको छ ।
काठमाडौंबाट आइरहेको इभीका चालकले लागूपदार्थ गाँजा सेवन गरेको प्रहरीलाई उदृत गर्दै स्थानीयले जानकारी दिएका छन् ।




















