विराटनगर । पृथ्वी राजमार्ग अन्तर्गत धादिङ खण्डमा यात्रुवाहक बस सडकबाट तल खस्दा १७ जनाको मृत्यु भएको छ। २७ जना घाइते भएका छन्।
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख १४२१ नम्बरको बस गएराति करिब १ः१५ बजे बेनीघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा नजिकैबाट करिब तीन सय मिटर तल त्रिशूली नदी किनारमा खसेको हो। बसमा ४४ जना सवार रहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।
घटनास्थलमै ६ महिला र ११ पुरुषको मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका जनाएको छ। जसमा एक जना न्यूजील्याण्डका पर्यटकसमेत रहेका छन्।
घाइते २७ जनालाई उद्धार गरी धादिङका अस्पतालमा प्रारम्भिक उपचारपछि काठमाडौं पठाइएको छ। दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको थियो।




















