विराटनगर । निर्वाचन रिपोर्टिङका क्रममा पत्रकार आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

निर्वाचनको समयमा सञ्चार माध्यमको भूमिका अझ संवेदनशील र जिम्मेवार हुने भएकाले समाचार संकलन, सम्पादन तथा प्रसारण गर्दा सत्य, तथ्य, सन्तुलन र विश्वसनीयतालाई उच्च प्राथमिकता दिनुपर्नेमा कार्यक्रममा जोड दिइयो। वक्ताहरूले निर्वाचन अवधिमा भ्रामक सूचना, अफवाह र अपुष्ट सामग्री प्रकाशन–प्रसारण गर्दा दीर्घकालीन असर पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरे।

छिटो निर्णय र हतारमा गरिएको रिपोर्टिङले पछुताउनुपर्ने अवस्था सिर्जना गर्न सक्ने उल्लेख गर्दै पत्रकारहरूलाई तथ्य पुष्टि गरेर मात्र समाचार सार्वजनिक गर्न सुझाव दिइयो।

अभिमुखीकरण कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले आ–आफ्ना अनुभव आदानप्रदान गर्दै निर्वाचनकालीन चुनौती र जिम्मेवारीबारे धारणा राखेका थिए। कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लामा कार्यरत विभिन्न सञ्चार माध्यमका पत्रकारहरूको सहभागिता रहेको थियो।

कार्यक्रम नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा सम्पन्न भएको हो।