विराटनगर।यतिबेला एमाले अध्यक्ष केपी ओलीलाई काठमाडौं–झापा पानी पँधेरो जस्तै भएको छ । उनी झापा धाएका धायै छन् । महिना दिनयता ओलीले चारपटक काठमाडौं–झापा ओहोरदोहोर गरिसके ।

यसपटकको निर्वाचनमा एमाले अध्यक्ष केपी ओली झापा क्षेत्रमा असाधारण सक्रिय देखिएका छन्।

एक महिनामा चौथो पटक झापा आइपुगेका ओली मतदातासँग प्रत्यक्ष भेटघाट र छलफलमा व्यस्त रहेका छन्।

झापा–५ मा बलियो प्रतिस्पर्धी देखिएपछि ओली आफ्नो क्षेत्र सुरक्षित गर्न निरन्तर दौडधुप गरिरहेका छन्।

विराटनगर — विगतका निर्वाचनमा एमाले अध्यक्ष केपी ओली मनोनयन दर्ताका समयमा मात्रै गृहजिल्ला आउँथे । केही दिन झापा बसेर काठमाडौं फर्किहाल्थे । दोस्रो पटक जितको प्रमाणपत्र लिन आउँथे र फर्किहाल्थे ।

उनको व्यस्ता यति धेरै थियो कि कहिलेकाहीँ त मनोनयन दर्ता पनि वारेसमार्फत नै गर्थे । आफ्नो क्षेत्रमा भन्दा अन्य क्षेत्रका चुनावी सभामा व्यस्त हुने ओलीको कार्यतालिका यसपटक बिल्कुल भिन्न रहेको  छ । आफ्नोबाहेकका क्षेत्रमा उनको दौडधुप शून्य नै छ । बरु आफ्नै क्षेत्र कसरी सुरक्षित गर्ने भन्ने चिन्ता उनमा देखिएको छ । 

खासमा यसपटकको निर्वाचनमा बालेन्द्र शाहको कारणले ओली ढुक्क बन्न सकेका छैनन् । काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह झापा–५ मा उम्मेदवार बनेपछि ओली दबाबमा परेका हुन् ।