विराटनगरका।बेलायत, ३१ जेठ : गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटवाल बेलायती सरकारको प्रतिष्ठित एमबिई पदकबाट सम्मानित हुनेभएको छ । बेलायती राजाको जन्मोत्सवको अवसरमा सार्वजनिक विभिन्न अवार्डको सूचीमा कटवाल प्रतिष्ठित ‘मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर’ (एमबीइ) बाट सम्मानित हुनेभएको हो । 

पदक सूची सार्वजनिक भएपछि रासससँग कुरा गर्दै कटवालले, आफू निकै खुसी भएको भन्दै यो सम्मान आफ्नो मात्रै नभएर समाजसेवाका लागि खट्ने टिम, परिवार र आफूलाई सधैँ समाजसेवाका लागि प्रेरित गर्ने समुदायको भएको बताए। 

कटवाललाई समाजसेवामार्फत समुदायमा पुर्‍याएको विशिष्ट योगदानका लागि यो सम्मान प्रदान गरिएको हो । कोरोनाकालमा दुई लाख ५० हजारभन्दा बढीलाई निःशुल्क खाना उपलब्ध गराउँदै थिए।भने अन्य विभिन्न सामाजिक कार्यमार्फत समुदायको हितमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । 

कटवाल केही महिनाअघि मात्रै बेलायतको एकसय प्रभावशाली व्यक्तिको सूचीमा समेत परेका थिए। सन् १९१७ मा राजा जर्ज पाँचौँले स्थापना गरेको एमबिई अवार्ड समाजको लागि दीर्घकालीन रूपमा प्रभाव पार्ने र अरूको लागि महत्त्वपूर्ण योगदान पुर्‍याउने उदाहरणीय व्यक्तिलाई राजदरबारले प्रदान गर्दै आएको छ ।

एक हजार २०० जना विभिन्न क्षेत्रमा विशिष्ट योगदान गरेका मानिसलाई राजाको जन्मोत्सवको अवसरमा विभिन्न पदकबाट विभूषित गरिएको हो । त्यसमा पदक प्राप्त गर्ने महिलाको सङ्ख्या ४८ प्रतिशत छ । यसअघि गत वर्ष  कीर्तिमानी आरोही पूर्वगोर्खा हरि बुढामगर र सन् २०१८ मा निर्मल पुर्जाले पनि यो सम्मान प्राप्त गरेका थिए। 

बेलायतको साउथ लन्डनस्थित पानस गोर्खा रेष्टुराँका सञ्चालक कटुवाल पानस हेल्पिङ ह्यान्डस् च्यारिटीमार्फत समाजसेवामा सक्रिय छन्। सिटी अफ लन्डनबाट ‘फ्रिडम अफ द सिटी अफ लन्डन’ अवार्डसमेत पाउनुभएका सुजनको सामाजिक संस्था हेल्पिङ ह्यान्डस्ले ‘प्वाइन्ट्स अफ लाइट’ अवार्ड समेत जित्न सफल भएको थियो । नेपालको विराटनगरमा जन्मिएका कटुवाल सन् १९९८ मा बेलायत आएका थिए।