देशकाे एक डल्लाे एकता माथि 

काेण काेणबाट डलेठाे बज्रिरहँदा

नि:शब्द बनेका ओठहरू,

यतिखेर, एकताकाे नाममा 

घाेक्राे च्यातिरहेका छन् ।

यहाँ सिंगाे धरती, जाे

टुक्रा टुक्रामा खण्डित छ

टुक्रा टुक्रामा विभक्त मुलुक 

स्वयंमा रंगिन रेखाहरू काेरेर

क्षेत्र, वर्ग, जाति, धर्म, सम्प्रदाय,

अनि रीति थिति र संस्कृति, संस्कारकाे नाममा

ब्यक्ति ब्यक्तिलाई फुटाएर 

एकलाे अनि सामर्थ्यहीन बनाइएकाे छ

भाे,

मलाई एकलाे एकता दिवस मनाउनु छैन


कुहिएका अल्छे मुर्दाहरूबाट 

सिउँ सिउँ जन्मेका किराहरू

उडुस, उपियाँ र लामखुट्टेहरू

रगत चुसिरहेका छन् 

र मानव चाेलाका रक्तबिजहरू 

दुर्गाहरूका सतित्व-हरण गर्न 

दिउँसै जुङ्गा मुठारिरहेका छन् 

यहाँ 

विवेक मरेका झाेलेहरूकाे घेराबन्दीमा परेका साेझा जनता

आफ्नै भूमिमा आफ्नैकाे हात बिक्री भईरहेका छन्

र झिनाे अधिकार प्राप्तिकाे आशामा

एक मुट्ठी जीवनकाे लागि कठै,

आफ्नै माटाेमा पराधिन बनेका छन्

यसबेला कुर्सीसंग साटिने खेलमा

चन्द्र र सूर्य  पनि

शकुनि दाउमा पर्ने संत्रासमा छ

भाे, बेअर्थ

खाेक्राे एकता दिवस चाहिएकाे छैन

अर्थ रहितकाे दिवस मनाउनु छैन ।


जहाँ माफियाहरूकाे इशारामा देश चलेकाे छ

चाेर डकैत र गुण्डाहरू खुलेआम घुमिरहेकाे छ

जहाँ तस्कर दलालकाे हालिमुहाली छ

जहाँ महँगी र अभावले आकाश छाेएकाे छ

जहाँ घुसखाेरी र भ्रष्टाचारीकाे कमाण्डमा 

बेइमान र बलात्कारीले संरक्षण पाउँछ

त्यहाँ,  म एकलाेले एकता दिवस मनाउनु छैन


कदाचित, मनाउनै प-याे भने,

हत्याराहरूकाे दिवस मनाओं

घुस्याहा र छुस्याहाहरूकाे दिवस मनाओं

बलात्कारी र भ्रष्टाचारीहरूकाे दिवस मनाओं

स्वाधिनताकाे नाममा पराधिनता दिवस मनाओं

लाेकतन्त्रकाे नाममा लुटतन्त्र दिवस मनाओं

आओं, यसपाली 

एकता दिवसमा नेता दिवस मनाओं !


शिवनारायण सिंगल

विराटनगर