विराटनगर।झापाको कमल गाउँपालिका–३ स्थित रतुवामाई बृक्षारोपण आयोजनाको जंगलमा करेन्ट लागेर हात्तीको मृत्यु भएको छ।

मंगलबार बिहानको राति जंगलभित्र रहेको फलामको बिजुली पोलमा धक्का दिँदा करेन्ट लागेको थियो। पोलमा हाईटेन्सन लाइनबाट करेन्ट प्रवाह भइरहेकाले हात्तीको सुड र एक दाँत जलेको अवस्थामा स्थानीयवासीले फेला पारेका हुन्। उनीहरूकै अनुसार घटनास्थलमै हात्तीको मृत्यु भएको हो ।


घटनापछि डिभिजन वन कार्यालय, इलाका प्रहरी कार्यालय र अन्य सरोकारवालाहरूको टोली घटनास्थल पुगेको थियो। करेन्ट प्रवाह भइरहेको बिजुली पोल जंगलको बीचमै रहनु वन्यजन्तु सुरक्षाको दृष्टिकोणले चिन्ताजनक भएको सरोकारवालाहरूको भनाइ रहेको छ।

जंगली जनावर संरक्षण तथा विद्युत संरचनाको व्यवस्थापनमा थप ध्यान दिनुपर्ने वन्यजन्तु अधिकारकर्मीहरूको भनाइ छ।