विराटनगर।सामाजिक विकासमन्त्री पाँचकर्ण राईले कोशी प्रदेशका उत्कृष्ट १० जना महिला उद्यमीलाई मंगलबार पुरस्कृत गरेका छन् । मन्त्री राईले महिला उद्यमीलाई ६५ हजारका दरले नगद र कदर पत्र प्रदान गरी पुरस्कृत गरेका हुन् । 

मन्त्रालयले ‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता हाम्रो अभियान’ मूल नाराका साथ मनाइरहेको सातौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा प्रदेशका १४ जिल्लामध्ये १० जिल्लाका सफल महिला उद्यमीहरुलाई पुरस्कृत गरेको हो ।  जसमा १० जिल्लाका महिलाहरुले पेश गरेका आवेदनमध्ये उत्कृष्ट १० जना महिलालाई छनोट गरी पुरस्कृत गरिएको मन्त्रालयका महिला विकास महाशाखा प्रमुख दर्गा भण्डारी (बराल)ले बताएकि छन्।

झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा र ताप्लेजुङ जिल्लाबाट प्राप्त आवेदनमध्ये उत्कृष्टताका लागि प्राप्त अंकका आधारमा प्रत्येक जिल्लाबाट एक–एक जना महिला उद्यमी छनोट गरेर पुरस्कृत गरिएको हो । १४ जिल्लाबाट १४ जना महिला उद्यमीलाई पुरस्कृत गर्ने मन्त्रालयको योजना भए पनि आवेदन नपरेकोले १० जिल्लाका १० जनालाई मात्रै पुरस्कृत गरिएको उनले बताइन् ।  

झापाको शिवसताक्षी–११ मा माहुरी पालन गर्दै आएकी देवकुमारी ओली, इलामको सूर्योदय नगरपालिका १ मा नमोबुद्ध फूल नर्सरी सञ्चालिका लासाङ तामाङ, सुनसरीको इटहरी उपमहानगरपालिका १० मा अमृत च्याउ उद्योग सञ्चालन गरेकी अमृता श्रेष्ठ, भोजपुरको भोजपुर नगरपालिका ५ मा प्रतिक्षा कृषि तथा पशुपंक्षी फर्म सञ्चालिका प्रतिक्षा श्रेष्ठ पुरस्कृत भएका छन् । 

मोरङको विराटनगर महानगरपालिका ४ मा बराह हर्बल उद्योग सञ्चालन गर्दै आएकी अम्बिता भण्डारी, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ मा खिना ढाका कपडा उद्योग सञ्चालिका खिना विश्वकर्मा, ओखलढुंगाको चिशंखुगढी नगरपालिका २ मा कन्चन सिलाई कटाई प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आएकी कोपिला श्रेष्ठ पुरस्कृत भएका हुन् ।