विराटनगर। चाँदनी फिल्मस्को आयोजनामा नेपाली चलचित्रमा साहित्य विषयक गोष्ठी तथा ३ दिने चलचित्र कार्यशाला-२०८२ सुरु भएको छ ।उद्घाटन समारोहमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी प्रमुख अतिथि थिए । मन्त्री भण्डारीले दीप प्रज्वलन गरी तीनदिने गोष्ठी तथा कार्यशालाको शुभारम्भ गरे ।

कार्यक्रमको सभापतित्व मधु पोख्रेलले गरेका थिए।कार्यक्रम संयोजक, आयोजक संस्था चाँदनी फिल्मस् बिराटनगरका केशव रायमाझी रहेका थिए । कार्यक्रममा विशिष्ट साहित्यकार तथा चलचित्रकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो । चलचित्र, कला, संस्कृति र नृत्य क्षेत्रमा दीर्घकालदेखि योगदान पुर्‍याउँदै आएका चार व्यक्तिलाई सम्मान समेत गरिएको थियो। सम्मानित हुनेहरूमा कलाकार तथा ब्लक बस्टर भएको नेपाली फिल्म ‘१२ गाउँ’ लेखक सन्तोष सरकार, नृत्यकार बबिता भुषाल, नृत्य निर्देशक सम्झना दाहाल र गायक दिनेश राई रहेका छन् । उद्घाटन कार्यक्रममा विभिन्न जातिय नृत्यहरू प्रस्तुत गरिनुका साथै वरिष्ठ गायक रामा मण्डल र नितिन गजुरेलले आफ्ना लोकप्रिय गीतहरू गाएर उपस्थितलाई मनोरञ्जन प्रदान गरेका थिए ।आयोजकका अनुसार यो कार्यशाला भोलि र पर्सी पनि सञ्चालन हुनेछ । विराटनगरका २० जना कलाप्रेमीहरूको सहभागिता रहेको यो कार्यशालामा अनुभवी कलाकार तथा निर्देशक विजय संयोक सुब्बाले प्रशिक्षण दिनेभएका छन्  ।



FB_IMG_1748538246046