विराटनगर, १४ जेठ ,कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता, २०८२’ माथिको छलफल जारी रह्यो। बैठकमा राजन किराँती, निरन राईलगायत ११ जना प्रदेशसभा सदस्यहरूले छलफलमा भाग लिएका थिए।
छलफलका क्रममा सदस्यहरूले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई मूर्तरूप दिन विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता स्पष्ट र प्रभावकारी हुनुपर्नेमा जोड दिए। उनीहरूले बजेट सर्वसाधारण नागरिकले प्रत्यक्ष महसुस गर्ने ढंगले निर्माण गर्नुपर्ने सुझावसमेत दिएका थिए। जनप्रतिनिधिहरूको योजनालाई समेट्ने, जनताको जीवनस्तर उकास्ने, भौतिक पूर्वाधारसँगै मानवीय विकासमा समेत जोड दिने गरी बजेट ल्याउनुपर्ने धारणा छलफलमा व्यक्त भयो।
प्रदेशसभा सचिवालयका उपसचिव गौतम अमात्यका अनुसार, बजेटले प्रदेशसभा सदस्यहरूको झन्डै ९० प्रतिशत योजना समेट्नुपर्ने माग राखेका छन् ।
विशेष समय : लिंथेपले सङ्घीय गणतन्त्रको सुदृढीकरणमा जोड
नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिंथेपले विशेष समयमा बोल्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले परिवर्तन गर्न नसक्ने स्पष्ट पारे। उनले अहिलेको परिस्थितिमा सबैले आफूलाई सच्याउँदै लैजानुपर्ने उल्लेख गर्दै, सरकार सुशासन र सेवा प्रवाहमा गम्भीर हुनुपर्ने विचार व्यक्त गरे।
शून्य समय : जनजीविकाका विविध विषय उठान
बैठकको शून्य समयमा गोम्बु शेर्पा, प्रदीपकुमार सुनवार, रामकुमार खत्री, कमला दर्नाल र किशोरचन्द्र दुलालले जनजीविकासम्बन्धी विषयमा धारणा राख्दै विभिन्न समस्याप्रति सरकारको ध्यानाकर्षण गराए।




















