विराटनगर।मोरङ, १३ जेठ — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकका हरेक क्षेत्रमा लैङ्गिक समानता कायम हुनुपर्ने बताएका छन्।
जिपी कोइराला लेबर फाउण्डेशन नेपालद्वारा विराटनगरमा आयोजित ‘लैङ्गिक समानता’ विषयक प्रशिक्षण कार्यक्रममा सहभागी हुँदै उनले राजनीतिक दलहरूले लैङ्गिक समानतालाई व्यवहारमा उतार्न आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्नेमा जोड दिएका हुन् ।
नेता कोइरालाले "समान कामको समान ज्याला" भनिए पनि महिला श्रमिकलाई दिने पारिश्रमिकमा अझै भेदभाव रहेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि ट्रेड युनियनहरूले स्पष्ट आवाज उठाउनुपर्ने धारणा राखे। उनले पार्टीको केन्द्रदेखि जिल्ला तहसम्म ट्रेड युनियनको प्रतिनिधित्व हुनुपर्ने माग विगतदेखि उठाउँदै आएको स्मरण गराउँदै, त्यसले श्रमिकका हकहितका सवालमा युनियनको माग प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र रामकृष्ण भट्टराईले आर्थिक उपार्जनमा वृद्धिमार्फत् लैङ्गिक समानता सुनिश्चित गर्नुपर्ने सुझाव दिएका छन्।
फाउण्डेशनकी अध्यक्ष सुधा दाहाल, कांग्रेस मोरङका कार्यवाहक सभापति भत्ति माझी, ट्रेड युनियन कांग्रेसका नारायणबाबु कार्की र फाउण्डेशनका मातृका शिवाकोटीले फाउण्डेशनले वि.सं. २०६५ देखि महिला श्रमिकका हक–अधिकारका क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी गराए।
कार्यक्रममा महिला श्रमिकको संरक्षण, वैदेशिक रोजगार, सीप प्रशिक्षण र सचेतनामूलक कार्यहरूमा केन्द्रित छलफल भएको थियो। प्रशिक्षणमा जिल्लाका १०० जनाको सहभागिता रहेको आयोजकले बताए।




















