काठमाडौँ, १३ जेठ — नेपाली साहित्य तथा शिक्षा क्षेत्रमा दीर्घ योगदान पु¥याउँदै आएका वरिष्ठ साहित्यकार, शिक्षाविद् तथा पूर्वक्याम्पस प्रमुख मोहन सिटौलाको जीवन र व्यक्तित्वलाई समेटिएको पुस्तक ‘मोहन सिटौला व्यष्टि र समष्टि’ आज राजधानीमा एक समारोहबीच विमोचन गरियो।
शारदा मासिकद्वारा प्रकाशित यस कृतिको लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले गरे। उनले पुस्तकले मोहन सिटौलाजस्ता बहुआयामिक व्यक्तित्वको योगदानलाई समेटेर नयाँ पुस्तालाई प्रेरणा दिने काम गर्ने विश्वास व्यक्त गरे। “साहित्य र शिक्षाको संगम बनेको सिटौलाको जीवन समग्र नेपाली समाजका लागि एउटा प्रेरणाको स्रोत हो,” उनले भने।
पुस्तकको समीक्षात्मक प्रस्तुति गर्दै प्रा.डा. देवी नेपालले पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको जानकारी दिइन्। पचास वटा नेपाली, चार अङ्ग्रेजी र चार शुभकामना सन्देश सहित जम्मा ५८ लेखक–लेखिकाले सिटौलाको जीवन, व्यक्तित्व र योगदानबारे आ–आफ्नो दृष्टिकोण प्रस्तुत गरेको यस कृति "व्यष्टि"हरूका मिलनबाट बनेको "समष्टि"को राम्रो उदाहरण भएको उनले उल्लेख गरिन्।
लेखकहरूले सिटौलालाई ‘नयाँ मुलुकका नाद’, ‘बहुप्रतिभाका धनी’, ‘सिद्धिसुधा’, ‘चुचुरोका मान्छे’, ‘पीडाका पहाड फोर्दै उज्यालो रोप्ने’, ‘महारथी’, ‘विश्वमानव’ जस्ता बिम्ब र उपमाद्वारा चित्रित गरेका छन्, जसले सिटौलाको व्यक्तित्वको विविध पाटोलाई उजागर गरेका छन्।
कार्यक्रमका अर्का समीक्षक प्रा.डा. हेमराज पौडेलले मोहन सिटौलाको जन्म, बाल्यकाल, पारिवारिक पृष्ठभूमि, शैक्षिक यात्रा र समाजप्रतिको योगदानबारे विस्तृत टिप्पणी गरे।
स्वयं ११ वटा पुस्तकका लेखक तथा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्व अध्यक्ष रहिसकेका मोहन सिटौला हाल अमेरिकामा छन्। उनले सोही अवसरमा अमेरिकाबाटै भिडियो सन्देशमार्फत् पुस्तक विमोचन कार्यक्रममा सहभागी जनाए।
८२ वर्षको उमेरमा पनि निरन्तर साहित्यिक सिर्जनामा सक्रिय रहेका सिटौलाको यो कृति उनी एक व्यक्तिमात्र नभई समग्र सिटौला समाजको प्रतिनिधित्व गर्ने दस्तावेज भएको दाबी कार्यक्रमका आयोजकले गरे।
पुस्तकको सम्पादन शारदा मासिकका प्रकाशक तथा सम्पादक विमल भौकाजीले गरेका हुन्। उनले पुस्तकको तयारीका क्रममा संकलित रचनामार्फत सिटौलाको जीवनलाई मात्र होइन, नेपाली समाजको एक महत्वपूर्ण आयामलाई अभिलेखबद्ध गर्न खोजिएको जानकारी दिए।
साहित्य, शिक्षा, सामाजिक चेतना र व्यक्तित्व निर्माणमा मोहन सिटौलाको योगदानलाई सजीव ढङ्गले प्रस्तुत गर्ने यस पुस्तकले पाठकलाई एक जना स्रष्टाको भोगाइ, अनुभूति र प्रभावलाई बहुआयामिक रूपमा बुझ्न सहयोग गर्ने विश्वास गरिएको छ।




















