विराटनगर। पर्सा स्थित प्रहरी गस्ती टोलीले भन्सार छलीको बिभिन्न औषधी, गाडी सहित मानिस पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा जिल्लाको विन्दवासिनी गाउँपालिका ४ स्थित मधवल सडकखण्ड हुँदै भारतबाट भन्सार छली गरी ल्याइएका अवैध औषधिसहित गाड़ी र एकजना युवकलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ना.५ च २४८३ नम्बरको पिकअप गाडीलाई जाँच गर्दा विभिन्न प्रकारका औषधिहरू अवैधरूपमा लोड गरिएको बरामद भएको छ।
ती औषधिहरूको कुनैपनि भन्सार बिलबिजक नभेटिएपछि गाडीसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चालक बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ५ निवासी २४ वर्षीय सुनिल कुमार राम रहेको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताएका छन्।
बरामद औषधिको अनुमानित मूल्य १२ लाख ७८ हजार ५२० रुपैयाँ बराबर रहेको एसपी मिश्रले जनाएका छन्।




















