विराटनगर । उच्च अदालत विराटनगरका दुई जना न्यायाधीशको राय आपसमा बाझिएपछि जिल्ला अदालत मोरङको आदेशबारेको निवेदन अब तेस्रो न्यायाधीशको इजलासमा पेश हुने भएको छ ।
मोरङको धनपालथानस्थित उमागौरी सहकारीको रकम अपचलन अभियोगमा जिल्ला अदालत मोरङबाट धरौटीमा रिहा भएका अञ्जला कोइरालासहित ६ जनालाई थुनामै राख्न माग गर्दै सरकारी वकिल कार्यालय उच्च अदालत पुगेपछि अदालतले वैशाख ११ मा यसबारे सुनुवाइ गरेको थियो ।
न्यायाधीशहरू श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद वाँस्तोलाको राय बाझिएको थियो । दुई न्यायाधीशको राय बाझिएपछि अब यो विषय तेस्रो न्यायाधीशको इजलासमा पेश हुने भएको हो । उच्च अदालतका अनुसार अबको पेशी बैशाख २५ गतेलाई तोकिएको छ ।
प्रतिनिधिसभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएकी थिइन् ।
उनीसहितका ६ जनालाई जिल्ला अदालतले धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो।
उच्च अदालत विराटनगरका रजिस्ट्रार जगदीशप्रसाद भट्टका अनुसार फौजदारी संहिता अनुुसार तल्लो अदालतको आदेशले थुनामा पठाए मुक्त गर्न र थुनामा नराखे थुनामा पठाउन माग गर्दै माथिल्लो अदालतमा निवेदन दिन पाइने प्रावधान छ । यही प्रबन्ध अनुसार जिल्ला सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको थियो ।
न्यायाधीश श्रीधराकुमारी पुडासैनीले जिल्लाको आदेश परिवर्तन गरिरहनु नपर्ने राय दिदा न्यायाधीश केशवप्रसाद बाँस्तोलाले भने जिल्लाको आदेश एकरूपको नदेखिएको भन्दै धरौटी रकम बढाएर एक करोड पुर्याउनुपर्ने राय दिएका छन् ।
न्यायाधीश पुडासैनीले आफनो राय (आदेशमा) मा भनेकी छन्। अदालतबाट भएको आदेश वेरितको नदेखिनुका साथै निवेदनमा उल्लेखित अन्य प्रतिवादीहरू लक्ष्मीदेवी कार्की राजवंशीको हकमा मिति २०८१।१०।३ मा रू ५,००,००० सुमन लोहनीको हकमा मिति २०८१।१०।१० मा रू २,००,००० मनोज कुमार सोनीको हकमा मिति २०८१।१०।१० मा रू १,००,००० धरौटी लिई मुद्दा पुर्पक्ष गर्ने गरी भएको आदेश मिसिल संलग्न तत्काल प्राप्त प्रमाणबाट अभियोजित कसूरमा हुन सक्ने निज प्रतिवादीहरूको संलग्नतालाई वेवास्ता गरी भएको देखिएको हुँदा प्रमाण बुझ्दै जाँदा ठहर बमोजिम हुने नै हुँदा हाललाई उक्त आदेश परिवर्तन गरी रहनु परेन । प्रतिवादी रोशन राजवंशी, अञ्जला कोइराला, ज्योति बास्कोटा र सन्तलाल खवासका हकमा अभियोगपत्रमा उल्लिखित बिगो समेतलाई विचार गरी जनही एक करोड र अन्य प्रतिवादीहरू लक्ष्मीदेवी कार्की राजवंशी, सुमन लोहनी र मनोजकुमार सोनीको हकमा जनही पच्चिस लाख नगद, बैंक वा जेथा जमानत लिएर थुनामा राखी मुद्दा पुर्पक्ष गर्नु र सो धरौटी दिन नसके कानूनबमोजिम गर्नु भनी पठाउनु भएकोमा माननीय न्यायाधीशज्यू श्री श्रीधरा कुमारी पुडासैनीको रायसँग सो हदसम्म सहमत हुन नसकेको हुँदा प्रस्तुत
निवेदनहरू सुनुवाइका लागि तेस्रो न्यायाधीशको इजलास समक्ष पेश गर्नू ।’
उमागौरी सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना भएको अभियोगमा २६ जनाविरूद्द मुद्दा दायर भएको थियो ।
सभापति ऋषिकेश पत्नी अञ्जला लामो समय फरार भएर पुस २४ मा जिल्ला अदालतमा आफै हाजिर भएकी थिइन् । उनी सोही दिन १० लाख धरौटीमा छुटेकी थिइन् । अरू पाँच जना भने पाँच–पाँच लाख धरौटीमा छुटेका थिए ।
कोइरालासहित रंगेली–२ का वडाध्यक्ष सन्तलाल खवास, ज्योती बास्कोटा, लक्ष्मीदेवी कार्की राजवंशी, सुमन लोहनी र सहकारीका पूर्व सञ्चालक मनोजकुमार सोनीको हकमा पनि जिल्लाको आदेश बदर गरी थुनामा राखेर पुर्पक्ष गर्न उच्च अदालतमा निवेदन परेको हो ।
सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार र धनपालथान–४ का पूर्व वडाध्यक्ष रोशन राजवंशी भने पुर्पक्षको लागि कारागार चलान भैसकेका छन् ।




















