मोरङ ।  कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ सुरु गरेसँगै प्रदेशभर पर्यटकको चहलपहल बढ्न थालेको बताइएको छ। छिमेकी भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु गरिएको पर्यटन वर्षले स्थानीयमा पनि उत्साह थपेको जनाइएको छ।

पर्यटकको चहलपहल बढेपछि पर्यटन तथा होटल व्यवसायी उत्साहित बनेका छन्। भारत बिहार राज्यबाट इलामको कन्याम घुम्न आएका कम्लेश शर्माले नेपाल स्वर्गको टुक्रा जस्तै लागेको बताउँदै साथीहरूका साथ एक सातासम्म नेपाल बस्ने योजना बनाएको बताएका छन्।

कोशी प्रदेश सरकारले कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन पर्यटन वर्ष २०८२ मनाउन थालेको जनाएको छ। भेडेटार होटल एसोसिएसनका अध्यक्ष तुमराज लिम्बूले होटल व्यवसायीहरू अत्यन्त खुसी भएको र अब व्यवसाय चलायमान हुनेमा आशावादी रहेको बताएका छन्।

विशेषगरी भारतीय पर्यटक आउने गरेको बताइएको छ। सीमा नाकामा पर्यटक सवारीसाधनलाई स्टिकर टाँसेर सहज बनाइएको लिम्बूले जानकारी दिएका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय सवारीसाधनमा पर्यटन वर्षको स्टिकर टाँसेर अभियानको सुरुवात गरेका थिए।

दैनिक १०० को हाराहारीमा भारतीय सवारी भेडेटार आइरहेको र भेडेटार तथा आसपासमा १५–२० हजार पर्यटकलाई राख्न सकिने होटेल तथा होमस्टे रहेको लिम्बूको भनाइ छ।

यस्तै, धनकुटाको साँगुरीगडी–६ नाम्जेका होमस्टे सञ्चालक नगेन्द्र मगरले गत वर्षभन्दा यो वर्ष सुरुवातमै आन्तरिक पर्यटकको चहलपहल बढेको बताएका छन्। नाम्जे थुम्की सामुदायिक होमस्टेमा १९ वटा घर आबद्ध रहेको र ९०–१०० जनासम्म राख्न सकिने जानकारी दिएका छन्।

मोरङको बेलबारी–९ का यातायात व्यवसायी नगेन्द्र भट्टराईले पछिल्लो समय आन्तरिक पर्यटन गर्नेहरू बढेको र घुम्न गाडी भाडामा लैजाने गरेको बताएका छन्।

प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्यमा पर्यटन वर्ष सञ्चालन गर्दै समग्र आर्थिक क्षेत्र चलायमान बनाउने लक्ष्य लिएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताएका छन्।

तेह्रथुमको तीनजुरे मिल्केमा उपप्रधानमन्त्री प्रकाशमान सिंहले चैत २७ गते पर्यटन वर्ष उद्घाटन गरेको स्मरण गरिँदै, धार्मिक, प्राकृतिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रका पर्यटक समेत कोशी प्रदेशमा आकर्षित हुने अपेक्षा गरिएको सहसंयोजक भविष श्रेष्ठले बताएका छन्।