सुन सरकार ! के भन्छ जनता ?

हाम्रा धैर्य टुट्दैछ अब त ।


शिक्षकको आवाज सुन कान खोलेर पहिले 

यो देशको गुरुवर्ग सडकमा छ अहिले ।

कक्षाकोठा भर्ने बेला रित्तो पार्न लायौ शैक्षिक गुणस्तरका कुरा लड्डुसरी खायौ।

गुरुवर्ग सडकमा ओछ्यायौ 

शिक्षा बेची कमिसन पछ्यायौ ।


पञ्चायती सरकार ढाल्यौँ अधिकार खोज्दै

तन्त्रैतन्त्र अभ्यासमा गणतन्त्र रोज्दै । विकेन्द्रित शासनसत्ता संघीयताभित्र

गाउँ गाउँमा सिंहदरबार, के पायौं खै मित्र?

माछो माछो भ्यागुतो करायो 

गुरुजनको मर्यादा हरायो ।


पेशागत हक हित खै? वृत्ति विकास खै त? दरबन्दी खै ६० हजार? पूर्ण बजेट खै त? कति जोत्छौ भोको पेटमा तलव चतुर्मास

छैन उच्च मनोबल, घटाइ सक्यौ आश । बालविकास, अनुदान, राहत 

कर्मचारी सबै छन् आहत ।


यो राज्यको दायित्वमा शिक्षा पर्दैन कि ! रोजगारी खै? सिप, उद्योग केही गर्दैन कि !

युवा जति खाडी पुगे, गाउँ रित्तो पारी 

कहाँ कमजोर भयो शिक्षा? ऋणकै छ भारी कता फाल्यौ विधेयक मस्यौदा ?

खोस्टो होइन विगतको सम्झौता ।


तिम्रो सत्ता हल्लाउने ताकत छ हाम्रो 

शिक्षा ऐन लागू गर्न किन हुन्छौ चाम्रो ? चिन्दैनौ के हाम्रो शक्ति, कति पानीमा छौ?

विद्रोहको राँको बाल्न गोलबद्ध भा'छौं। 

धेरै सह्यौं निरीह ठान्यौ कि ?

समुद्रलाई खहरे मान्यौ कि ?

        निर्मला कोइराला 

विराटनगर            

     नेपाल शिक्षक संघ 

                          महासचिव