मुक्तक १
गोरे परोस् अथवा काले फरक पर्दैन
जिन्दगि बिताइन्छ मज्जाले फरक पर्दैन
तिम्रो, मेरो मन मिलिसकेपछि प्रिय,
जे सोचोस् यो दुनियाले फरक पर्दैन ।
मुक्तक २
के कुरामा सोच्यौ कम, केहि लाग्दैन
चाले पनि गलत कदम, केहि लाग्दैन
बहुत माथि सम्म पहुँच भएको मान्छे हुँ,
मलाई कानुन, नीतिनियम केहि लाग्दैन ।
मुक्तक ३
अझै पनि ताजै छ सम्झना, कसले सुनिदिने
कयौँ तुहेर गएका सपना, कसले सुनिदिने
झट्ट हेर्दा हँसिलो मुहार देखिए पनि,
यो मन भित्र गडेको वेदना, कसले सुनिदिने ।
मुक्तक ४
देखाउँदै छ निकै चुरीफुरी पैसा कमाएपछी
अहंकारले नाघ्यो धुरी पैसा कमाएपछी
पहिले आउथ्यो, बस्थ्यो सँगै खाने गर्थ्यो,
अचेल बढाएको छ दुरी पैसा कमाएपछी ।
किस्मत खतिवडा
विराटनगर