काठमाडौँ। ७ वैशाख – नेपाल धर्म संस्कृति अध्ययन सङ्घ (एएससिआर–नेपाल)ले धर्म, संस्कृति तथा सम्पदासम्बन्धी विषयमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। सङ्घले नेशनल कलेजसँगको सहकार्यमा आगामी वैशाख ११ र १२ गते सम्मेलन गर्ने जानकारी दिए।
सङ्घका अध्यक्ष प्राडा सोमप्रसाद खतिवडाले सम्मेलनको उद्देश्य ‘विगत र वर्तमानको समन्वयः सांस्कृतिक अभ्यास र धर्मको बुझाइ’ रहेको बताए। उनले सम्मेलनले मुलुकभरका नयाँ तथा अनुभवी अनुसन्धानकर्ता, प्राध्यापक र संस्कृतिसम्बन्धी सरोकारवालालाई एकै ठाउँमा ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन्।
खतिवडाले सम्मेलनमा ३२ जना अनुसन्धानकर्ताले धर्म, संस्कृति, पुरातत्व तथा सम्पदासँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिए। उनले युवा अनुसन्धानकर्तालाई लक्षित गर्दै वैशाख ११ गते प्राज्ञिक लेखनसम्बन्धी विशेष सेमिनार राखिएको समेत बताएका छन्।
उनका अनुसार, सम्मेलनको दोस्रो दिन वैशाख १२ गते समूहगत छलफलमार्फत विभिन्न विषयमा विस्तृत बहस गरिनेभएको छ।
सङ्घले विश्वविद्यालयका प्राध्यापक, शिक्षक, विद्यार्थी तथा नेपालको मूर्त र अमूर्त सम्पदाको अध्ययन, अनुसन्धान तथा संरक्षणमा संलग्न विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलाई सम्मेलनमा सहभागी गराउने तयारी गरेको जनाएको छ।
नेशनल कलेजका प्राचार्य माधव न्यौपानेले सम्मेलनमा प्रस्तुत हुने अनुसन्धानमूलक कार्यपत्रहरू कलेजले प्रकाशन गर्दै आएको नियमित जर्नलमा समावेश गरिने बताएका छन्।
सम्मेलनमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा अच्युतप्रसाद वाग्ले र त्रिभुवन विश्वविद्यालयका पूर्वकुलसचिव पेशल दाहाल प्रमुख वक्ताका रूपमा रहने जानकारी दिइएको छ।
खतिवडाले सम्मेलनले धर्म, संस्कृति र सम्पदाको अध्ययन र अनुसन्धानमा नयाँ सोच र दिशा दिन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।




















