नयानभिराम सज्जित सुन्दर फुलहरु 

आरामदेह सुख सुविधा मानौ कल्पतरु

सुखी र सम्पन्नताको कर्णप्रिय राग

गन्धर्वहरुको मधुर गान 

रम्भा तिलोक्तमाहरुको आनन्दमय नृत्यमा मग्न

अमरावतीको भोग गर्ने देवगण


तर नजिकमा पुग्दा आश्चर्य चकित 

नफुलमा सुगन्ध नै छ न शैयाहरुमा आराम

आसनहरु टाँसिएका तनमा

मृत्युपर्यान्त नछोडने संकल्प लिएर 

तर कसको संकल्प ? आसनको कि आसिनको 


गन्धर्वको गान मधुर तर लान्छना युक्त शव्द

रम्भा तिलोत्तमाको नृत्य 

मरजिनाको चक्कु नृत्य सरह

कुनवेला सरदारको छातीमा पस्ला


अलिवावा र चालिस चोरको गाथा

को होलान यो भोग्ने देवगण 

हमेशा अदृष्य डरले ग्रस्त 

अपराध बोधले गलाएका

थकाएका पकाएका 

अनि हुतात्माको अतृप्त चाहना


दुरुपयोग गरेको आत्मग्लानी बोकेर जीवित

देवगण, तारणहार , पालनहारको भ्रम बेचेर

भित्रभित्रै भयातुरहरुको समुह


किनभने, यो उपवन तिलस्मी हो 

नक्कली फुलहरुले सज्जित

भित्र केही हात मुनी उम्लदो लाभा छ

प्रतिपल आफु र उपवनको दुरी घटाउदै


सम्मोहन गर्न प्रयोग गरेका शव्दहरु उम्लदैछन खटखट

प्राप्त गर्न गरिएका कुकर्महरु फत्कदैछन फतफत


देवगण भेषधारीहरु जान्दछन तर बुझ पचाउछन

लाभाले कुनै पनिवेला अवरोध पार गर्ने छ

सुरक्षा कवच भएको त्यो माटो 

कुनैपनि वेला लाभाको मित्र बन्न सक्छ


अज्ञानले साँच्चै देवगण भएको भ्रम छ

सर्वशक्तिमान, परमात्मा परमेश्वर

सबै आफै भएको भ्रम वेचेर होला कि

लाभा र आफु बीचको अवरोध बलियो पार्न

तर , छैन छाँटकाँट अवरोध बाक्लिने 


कारण , माटो प्रकृति हो, सहजवृत्ति हो

उसको मित्र नक्कली उपवन हैन

जति जति धोका खाएको ठान्छ

क्रोधले तापाक्रम बढछ , अनि त्यही बन्छ लाभा 


खटखट उम्लदो लाभा , जसलाई शान्त पार्ने क्षमता

नक्कली उपवनमा छैन 

देवगणका भेष लिएकामा त झन छैन

बिल्कुलै छैन शितलताको बदला तापाक्रम बढाउन वाहेक


त्यसैले त्यो लाभा बढदो छ अझ उम्लदो छ 

उम्लन्छ जवसम्म यो नक्कली तामझाम रहन्छ 

त्यो सकिने वित्तिकै 

उदाउने छन साँच्चैको देवगण

जसको उपस्थिति नै पनि 

प्रयाप्त छ लाभा शान्त पार्न


त्यसैले हाललाई 

लाभामाथीको फुलवारीमा

आनन्द नखोजेको राम्रो

सुख नखोजेको बेश

लहैलहैमा लागेर नक्कलीको,

आफ्नो अस्तित्व जोखिममा नपारेकै वेश

बुझ्नेलाइ इशारा काफी

लाभा माथीको फुलबारीको 

भरोसा नगरेकै बेश


स्वयम्भुनाथ कार्की

विराटनगर १