विन्दु हाे सृष्टिकाे केन्द्र प्रलय विन्दुमै हुने
विन्दु नै रज यो वीर्य मातापिता दुवै छुने ।
ज्ञानविज्ञान शास्त्रादि विन्दु नै मुख्य कारण
जन्म मृत्यु जरा व्याधि विन्दु नै बन्छ तारण ।।
विन्दु हुन् सूर्य यी चन्द्र ग्रह नक्षत्रका ढिका
ॐ ह्रीँ काे पूर्णता सृष्टि स्थितिमा छ समाहिता।
अल्ला ईश्वरका साथै यी यशु परसम्मका
ज्ञानविज्ञान छन् सारा उत्पत्ति र विनाशका ।।
थाहा अथाह सारा याे विन्दु विन्दु जताततै
जसरी हुन्छ हामीले जानाैँ विन्दु छ निश्चितै ।
विन्दु सार छ यो सृष्टि सृष्टि रम्छ यसै यता
जलतरङ्गको जस्तै विन्दु घुम्छ जतातता ।।
विन्दु परिधिको भित्र तरङ्ग नै उठेसरि
समेटिन्छ यता सारा विन्दुमा नै सधैँभरि ।
धर्म अर्थ र यी काम माेक्ष पौरुष नै पनि
प्रकट विन्दुबाटै छन् विन्दुमै मिल्दछन् अनि ।।
तरङ्गित भएका छन् धर्म संस्कारका कुरा
प्रत्यक्ष बुझिँदा हुन्छन् विन्दुका रूप टाकुरा ।
पूजापाठ गरे ध्यान बन्द र माेक्ष जे भन
ध्यानमा नै रमेकाे छ वुद्ध र शिवकाे मन ।।
ईश्वर राम अह्लाह कृष्ण शिव र शक्तिकाे
आलम्व यही हो विन्दु पञ्चतत्व र सृष्टिकाे ।
विन्दुबाट हुने सृष्टि विन्दुमा नै समेटिई
विभिन्न शक्तिकाे स्रोत परमाणु समेत यी ।।
अनन्त शक्ति हाे विन्दु अविनाशी सनातन
मुक्तिकाे लक्ष्य हाे विन्दु मिलेकाे त्यसमै मन ।
निमित्त मात्र हुन् सारा कर्ता हर्ता छ विन्दु त्याे
ज्ञानले पूर्ण जाे हुन्छ विन्दुकै एकमा मिल्याे ।।
- हरिभक्त सिग्देल ' महेश '
काठमाडौ
बुढानिलकन्ठ ९




















