विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिका २ बाट छोरालाई पढाउन सुनसरीको इटहरी,२ स्थित हलगाडामा डेरा बस्दै आएकी चुनुकुमारी दाहाल बुढाथोकीको हत्या भएको छ। कोरियामा रोजगारीका लागि पुगेका उनकै पतिले योजना बनाएको खुलेको हो। आफ्ना श्रीमान् कोरिया गएपछि करिब २ वर्षअघिदेखि आफ्नो छोरालाई पढाउनका लागि चुनुकुमारी इटहरी झरेकी थिइन् । उनको माइती महालक्ष्मी नगरपालिका १ मा पर्छ । तर, छोरा पढाउन उनी इटहरी आएपछि उनीमाथि विभिन्न आशंका खडा गर्दै श्रीमान् सहित घरपरिवारका सदस्य संलग्न रहेर हत्या गरेको खुलेको छ ।
सुनसरीको धरानस्थित जंगलमा मृत अवस्थामा फेला परेकी ३४ वर्षीया चुनुकुमारी दाहाल का श्रीमान प्रेमबहादुर बुढाथोकी कोरियामा थिए । उनले त्यहिंबाट यहाँ श्रीमतीको हत्या गर्ने योजना बनाएको र त्यसमा आफ्नै परिवारका सदस्यलाई संलग्न गराएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।कोरियाबाट प्रेमबहादुरले बनाएको योजना अनुसार उनका भाइ वर्ष २९ का ढकेन्द्र बुढाथोकीसहित ७ जनाको संलग्नतामा चुनुकुमारीको हत्या भएको खुलेपछि प्रहरीले छ जना आरोपीलाई पक्राउ गरेर सार्वजानिक गरेको छ । एकजना अझै फरार रहेका छन् ।
प्रहरीले प्रेमबहादुरका भाइ मोरङको पथरीशनिश्चरे ३ संगमचोकमा बस्दै आएका ढेकेन्द्र बुढाथोकी, ढेकेन्द्रकै पत्नी २५ वर्षीया सृष्टि बुढाथोकी, पाँचथर मिक्लाजुङ गाउँपालिका ७ घर भई हाल उर्लाबारी ५ मा बस्दै आएका प्रेमबहादुरका कान्छा ज्वाँइ योगेन्द्र गौतम, योगेन्द्र पत्नी २८ वर्षीय डेनु गौतम र पथरीशनिश्चरे ३ का वर्ष ४० का केशवराज दाहाललाई पक्राउ गरेको छ ।
प्रहरीले पाँच दिनपछि चैत २९ गते प्रेमको भाइ ढकेन्द्र, उनकी पत्नी सृष्टी, डोनु र केशवराज दाहाललाई पक्राउ गरेको थियो । त्यसपछि ३० चैतमा योगेन्द्र गौतम काँकडभिट्टा नाकाबाट पक्राउ परेको प्रहरीले जनाएको छ । त्यसपछि परिवारसँगको समन्वयमा प्रेमलाई कोरियाबाट झिकाइएको थियो । उनी बुधबार कामाठडांैको अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । बिहीबार उनीहरुलाई सार्वजानिक गरिएको हो ।




















