विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनको बिहीबार राती सम्पन्न भएको मतगणनाबाट अध्यक्षमा बलराम गिरी (नवीन) को प्यानलै निर्वाचित भएको छ । गिरी ५२ मतको अन्तरले अध्यक्षमा निर्वाचित भएका हन् ।
गिरीसहित पदाधिकारी तर्फका सबै पदमा जिल्ला कमिटी मोरङको समर्थनसहित नेता विनोद ढकालले खडा गरेका उम्मेदवार निर्वाचित भएका छन् ।
गिरीले १७३ मत पाएर अध्यक्ष निर्वाचित हुँदा उनका प्रतिस्पर्धी रोहित कोइरालाले १२१ मत प्राप्त गरेका छन् । अध्यक्षमा पराजित कोइराला निवर्तमान कमिटीको अध्यक्ष हुन् । अध्यक्ष निर्वाचित गिरी सचिव थिए ।
उपाध्यक्षमा पनि गिरी प्यानलकै सुवास कुमार न्यौपाने (सुरज) १४५ मत ल्याएर विजयी बन्दा उनका प्रतिस्पर्धी राम पोखरेलले १३६ मत प्राप्त गरेका छन् । विराटनगरका लोकप्रिय युवा नेताका रुपमा उदाएका पोखरेल मात्र ९ मतले न्यापानेसँग पराजित भएका हुन् ।
सचिव पदमा विज्ञान चापागाईं निर्वाचित भए । उनले १८३ मत पाए । कोइराला प्यानलबाट सचिव उठेका नवराज काफ्लेले १०४ मत प्राप्त गरे।
उपसचिवमा हमिद आजाद र हिमा मैनाली (पोखरेल) निर्वाचित भएका छन् । दुवै उपसचिव नेता ढकालले खडा गरेको गिरी प्यानलका उम्मेदवार हुन् ।
उपसचिव निर्वाचित आजादले १७८ मत प्राप्त गरे । त्यस्तै मैनालीले १६९ मत प्राप्त गरी निर्वाचित हुँदा कोइराला समुहमा रहेका उपसचिवका उम्मेदवार चन्द्रशेखर विश्वासले ९८ र कला डाँगीले १११ मत प्राप्त गरिन् ।
३१४ जना प्रतिनिधि कायम रहेको ३०८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनबाट पाँच पदाधिकारीसहित ९७ जनाको महानगर कमिटी निर्वाचित गर्नुपर्नेमा पदाधिकारीसहित १६ वटा पदमा मात्रै निर्वाचन भएको थियो । ८१ जना सदस्य भने सर्वसम्मत भएका थिए ।
महानगर कमिटीमा बाँकी ४ जना भने मनोनित गरेर १०१ सदस्यीय बनाइने जनाइएको छ ।




















