आउँदा हर्षउल्लास बोकेर आयौ
सारा दु:ख,पीडा छोडेर आयौ
नव ईच्छा,आकांक्षा र लक्ष्य लिएर
नव योजनाको कार्य तर्जुमा सहित
बर्षलाई आफू सापेक्ष बनाउने
प्रण गरेर आयौ
कति सफलता र असफलतामा रुमल्लिंदै
कयौंसंग सहयोगको अपेक्षा गर्दै
अनि अरुलाई पनि सकेको सहयोग गर्दै
आफ्नो सीप अरुलाई सिकाउँदै
अरुबाट केही सीप सिक्दै
समाजमा आफ्नो प्रतिभाको प्रभाव पार्दै
कयौं उकाली चढ्दै
सयौं ओराली झर्दै
कठोर र दुर्गम यात्राको
अनुभव संगाल्दै
प्रकृतिको सुन्दरतामा डुबुल्की मार्दै
जीतेका अनेकौं खेलहरुमा अरुको
भलाईका निम्ति हार्दै
लर्बराएका यी पाउहरुलाई
दह्रो बनाउँदै
आत्मबल उच्च
राख्न
भलो चाहानेको आशिर्वाद लिएर
अन्धकार समयको
एक पललाई बिदाई गर्दै
भोलीको दिन झनै उत्कृष्ट बनाउने
सपना बोकेर
बिहानीको किरणसरि
धर्तीमा लालीत्यमा छर्न
नव बर्षलाई स्वागत गर्दै
पुरानो "बर्षको अन्तिम दिन"लाई
बाँकी रहेका अधुरो कार्यलाई
पूरा गर्ने वाचा सहित
नव सिर्जित योजना
कार्यान्वयन गराउन
म बिदाईका हात हल्लाईरहेछु।




















