• उद्धव बिष्ट, 'चुम्लुङे'

विषय प्रवेशः

प्रतिमा क्षेत्रीद्वारा लिखित पुस्तक  मनका तरङ्गहरु एन. बी. दाहाल 'नवीन' द्वारा वि. सं. २०८१ को विजया दशमी र प्रतिमाको जन्मोत्सवको अवसरमा प्रकाशित गरिएको पुस्तक संख्या ३०० प्रति । पृष्ठ १६० मूल्य रु. ३००/- बाबा स्व. कुमार क्षेत्री आमा स्व. चन्द्रमाया क्षेत्री प्रति समर्पण गरिएको छ। प्रकाशकीय लेखमा कवि तथा गीतकार एन बी दाहाल 'नवीन' लेख्छन्- प्रतिमा क्षेत्री जो मल्लागुरी सिलगुरीमा बसोबास गर्छिन् दार्जीलिङ र सिलगुरीमा पढेर त्यहींको के.सी मोहपाल अस्पतालमा एक्सरे टेक्निसियन हुन् । मामा लक्ष्मीदास बस्नेत साहित्यकारबाट प्रभावित भएर सन् १९८० देखि रेडियो नेपाल काठमाण्डौंको बाल कार्यक्रममा रचनाहरु पठाउन थालेर कविता, गीत, सेलो, कथा, युगल गीत लेख्ने गरेको उल्लेख छ । मुखबन्ध शीर्षकमा कृष्ण प्रधान लेख्छन् - प्रचार, प्रसारदेखि चारकोश टाढा रहने, गम्भीर, शान्त प्रतिमा क्षेत्रीलाई एन वी दाहालको प्रकाशनको हुटहुटीले भारतीय नारी हस्ताक्षरको रूपमा हामीले चिन्न पाएको उल्लेख गर्दै "आफ्नो अनुभूतिलाई नाकेडोरी लगाउने सबल र अब्बल कविहुन् प्रतिमा तामाङ." लेखिएको पाइन्छ ।

uddhab

शुभकामना शीर्षकमा राजन तामाङले फेसबुकको चौतारी साहित्यिक समूहमा आवध्द भएर प्रतिमाले आफूले भोगीसकेको अनुभवबाट हृदयस्पर्शी भाव उतार्दै केवल कविता अनि मान्यजनसँगको भेटघाटको तस्वीर सञ्जालमा लगाउने चरित्र चित्रण गरेको पाइन्छ ।  एक गुच्छा शुभेच्छा प्रतिमालाई शीर्षकमा देवीका मग्रांती राई खरसाङ "किन मञ्च पाउँदैनन् हाम्रा नवोदित कविहरु ? राम्रा सिर्जनाहरु, राम्रा प्रस्तुति खोज्छौ हामी । तर किन मञ्च दिन चाहँदैनौं ? भन्दै प्रतिमाका कविता, मुक्तक, गीत, गद्य कविता, कथा सबैको भाव छोटकरीमा राख्दै शुभकामना सहितको हौसला दिइएको पाइन्छ । शुभकामनाका दुई शब्द कवि, गीतकार, कथाकार प्रतिमालाई शीर्षकमा विष्णु ठकुरी "कवि प्रतिमा क्षेत्री राम्रो लेख्छिन्, गमेर लेख्छिन्, मुटुमा ढुङ्गा राखेर लेख्छिन्, कहिले प्रेमिल भावहरुमा रमाउने गर्छिन् ।..... यो पुस्तक विभिन्न विषय लिएर मिश्रित सृजनाको कोसेली हो प्रतिमाको ।" उल्लेख गर्दै आशीर्वाद भन्दा पनि पर माता सरस्वतीको आशीर्वाद प्राप्त भइरहोस् भन्ने कामना गरिएको पाइन्छ । बहिनीलाई शुभकामना रूपा क्षेत्री-"ऊ प्राय: "बाहिरतिरै बसेर जतिबेला पनि छुसुक्क कोरीराख्ने । एक दिन अचानक नेपालबाट एक जना सर आइपुग्नु भयो ।

"अनि कुरै कुरामा भन्नु भयो बहिनेले राम्रो लेख्छिन् र किताब निकाल्नु भनेको भन्नु भयो । सुझाव राम्रो लाग्यो र लु भाइ यसो मद्दत गरिदिनु भए राम्रो हुने थियो भनें । उहाँ खुसी भएर सबै रचनाहरु लगिदिनु भयो र हामी सबै खुसी भयौं ।"  मेरो भनाइहरु शीर्षकमा लेखकले तेह्र वर्षको उमेरदेखि लेख्न थालेर रेडियो नेपालको बाल कार्यक्रममा रचनाहरु पठाउने गरेको र नेपालका एन.वी- दाहाल 'नवीन' को प्रेरणाले पुस्तक प्रकाशन भएकोमा संलग्न, प्रेरणा, हौसला, शुभकामना दिनु हुने सबै सबैलाई धन्यवाद ! आभार व्यक्त गरिएको पाइन्छ । क्रमशः पुस्तकको पहिलो खण्ड कविता खण्ड र मुख्य उपलब्धिः चिहाएर हेर्दा कविता छोटा छन्, कवितामा गहिरो प्रेमिल भाव पाइन्छन् । पछुताउ शीर्षक कविताले पहरा चढेर छहरा नाग्ने रहरलाई दलदल भित्र भासिन पुगेको पश्चताप पोखिएको छ । जलाइ दिउँकी शीर्षकमा निराशा र क्रोध पोखिएको पाइन्छ । रित्याइ दिएं दूई दिन पछि झर्ने, ओइलिने यौवनमा माया लाउनु र प्रीति गास्नु व्यर्थ छ । मत्थु शीर्षकबाट एउटा जाँडले मात्ने, जे पनि खाने, परैबाट गन्हाउने, काम नलाग्नेका विशेषता वर्णन गरिएको छ । प्रतीक्षा शीर्षकमा मायालुको प्रतीक्षा गर्दाको अवस्था र त्यस समयको वातारणको चित्रण पाइन्छ ।

आत्महत्या पाप शीर्षकमा - जीवन धान्न नसकेर आफैले देह त्याग्नु पाप हो । यसो गर्नेले अरुको अङ्गमा चढ्नु पर्दछ किनकि मुक्ति पाउँदैन भन्ने भाव पाइन्छ । सपनीमा शीर्षकमा मायालुलाई सपनीमा आउन आह्वान गरिएको । साथी शीर्षक कवितामा जे गरे नि, जसो गरेनी, प्रेमी र प्रेमिका सँगै रहन, सँगै बाँच्न इच्छा व्यक्त भएको छ । विधवालाई शीर्षक कवितामा विधुवाले सिन्दूरको रहर गर्ने, सधुवाले करले लगाउने नमिल्दो सोचलाई केही व्यक्तिमा हुन्छ भनेरै व्यक्त गरिएको लाग्छ । चाहना शीर्षक कवितामा जन्मभूमी स्वर्गभन्दा प्यारो भनेझैँ पुर्यौली भूमीमा पुग्ने ढोग्ने इच्छा छ । फेरि सतायो शीर्षकमा सानामा अरुले लगाइदिएको चोखो खत देखेर ज्वाला उत्पन्न भएको छ । अन्धो भगवान शीर्षकमा ठूला मानिस बन्ने चाहनामा पापको दहमा डुब्दा पनि ईश्वरले कुनै सजाय नदिनु भनेको भगवान पनि अन्धा छन् कि भन्ने भाव पाइन्छ । अहंकार शीर्षक कवितामा लगन पछिको पोते भनेझैँ धेरै दृष्यन्त राखिएका पाइन्छन् । जसको कुनै अर्थ रहन्न । ईश्वरको खोज  ईश्वरलाई सर्वत्र खोज्न हिंडे पनि ईश्वर त आफ्नै मन भित्र रहन्छन् । प्रतिमा क्षेत्रीका कविताहरुलाई अध्ययन गर्दा समग्रमा निम्न विशेषताहरु पाइन्छन् । कवि तथा गीतकार प्रतिमा छेत्रीलाई अरु कृति र गीतकोलेखनमा क्रमबद्ध प्रगती होस भनी शुभेच्छा व्यक्त गर्दछु।