विराटनगर / नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशलाई आज उत्कृष्ट प्रदेश शाखाबाट सम्मानित गरिएको छ । नेपाल उद्योग बाणिज्य महासंघको ५९ औ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१ का अवसरमा काठमाण्डौंमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशीलाई उत्कृष्ट प्रदेश शाखाको रुपमा सम्मान गरिएको महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ले जानकारी दिएका छन्। महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतलाई प्रधानमन्त्री केपी शर्मा ओली, महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले सम्मानित गरेका थिए । महासंघ कोशी प्रदेशले मोरङको बुढीगंगामा आफ्नै कार्यालय भवन निर्माण कार्य शुरु गरिसकेको छ । २ कठ्ठा क्षेत्रफलमा ४ करोड भन्दा बढी रुपैयाँको लागतमा अढाई तल्ले भवन निर्माण शुरु भएको छ ।