मोरङ । युवाहरूमा सिर्जनशीलताको विकास गर्ने उद्देश्यका साथ स्थापित सिर्जनशील मिडिया ग्रुपले एक कार्यक्रमका बिच साहित्यिक भेटघाट तथा रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ । सुनसरीको तालतलैयामा सम्पन्न कार्यक्रममा सदस्यहरूबिचमा भेटघाट, नयाँ वर्षको शुभकामना आदानप्रदान तथा रचनावाचन गरिएको थियो ।
लेखक तथा मुक्तककार नवराज पोखरेल ‘नवशिला’ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा लेखक तथा अनुसन्धाता केशु विरही, कवि तथा लघुकथाकार निरज कोइराला, गजलकार लक्ष्मी फुयललगायतको शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रममा विवेक कार्की (पथरी), काजल न्यौपाने (भोजपुर), समीर फुयल (पथरी), कला ढकाल (झापा), सरु श्रेष्ठ (तेह्रथुम), जानुका परियार, अनुज दाहाललगायतले रचनावाचन गरेका थिए ।
२०८० सालमा स्थापना भएको यस संस्थामा विभिन्न जिल्लाका गरेर १९४ जना सदस्य रहेका छन् । दुईपटक काठमाडौँमा कार्यक्रम गरेको यस संस्थाले पूर्वमा भने पहिलोपटक यस प्रकारको भेटघाट कार्यक्रमको आयोजना गरिएको आगामी दिनमा पनि यसरी नयाँ नयाँ स्थानका कार्यक्रम गर्ने योजना रहेको व्यवस्थापक भुवन गाउँलेले बताए ।
सिर्जनशील मिडिया ग्रुपका सचिव समीर फुयलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अर्का सचिव काजल न्यौपाने र व्यवस्थापक भुवन गाउँलेको रहेको थियो ।




















