विराटनगर । पत्रकार सुरेश रजकको हत्या र आमसञ्चार माध्यममाथि भएको आक्रमणको विरोधमा मोरङका पत्रकारहरू आन्दोलित भएका छन्। शुक्रबार, राजावादीहरूको प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकमाथि आक्रमण भएको थियो। रजकले समाचार संकलनका लागि भिडियो खिचिरहेको बेला प्रदर्शनकारीहरूले घरमा आगो लगाएका थिए, जसमा उनको जलेर मृत्यु भएको थियो।

यही घटनाको विरोधमा शनिबार बिहान नेपाल पत्रकार महासंघ मोरङ शाखाले विराटनगरमा विरोध प्रदर्शन गरेको हो। महासंघको कार्यालयबाट सुरु भएको विरोध र्‍याली ट्राफिक चोक, महेन्द्र चोक र सनिमन्दिर हुँदै जलजला मोड पुगेर पुनः ट्राफिक चोकमा कोण सभामा परिणत भएको थियो।

कोण सभामा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल र मोरङ शाखा अध्यक्ष सुशिला पाठकले पत्रकार रजकको हत्यामा संलग्न दोषीहरूलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।