मोरङ । मोरङको बेलबारीलाई आफ्नो साहित्यिक कर्मभूमि बनाउँदै आएका साहित्यकार ईरान राईको पछिल्लो कवितासंग्रह ‘इतिहास’ लोकार्पण भएको छ। कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा पूर्व सांसद हर्कमान तामाङ, विशिष्ट अतिथि बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई तथा अन्य साहित्यकार एवं अतिथिहरूको उपस्थितिमा कृतिको विमोचन गरिएको थियो।

कृतिको विमोचनपश्चात् वरिष्ठ साहित्यकार हर्कमान तामाङले पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको ‘ढुङ्गा’ कवितासँग तुलना गर्दै ईरान राई पनि विभिन्न जीवन संघर्षबाट गुज्रँदै साहित्यमा आफ्नो पहिचान बनाउन सफल भएको उल्लेख गरेका थिए।

बेलबारी नगर प्रमुख दिलप्रसाद राईले ईरान राईको सिर्जनात्मकता र सकारात्मक सोचको प्रशंसा गर्दै समाजमा रहेका विकृतिहरूलाई उजागर गर्न कविताले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका हुन्।

समालोचक मिश्र बैजयन्तीले ‘इतिहास’ कृतिमा राजनीतिक, सामाजिक तथा शैक्षिक विकृतिहरूविरुद्ध तिखो व्यङ्ग्य गरिएको बताइन्।

ईरान राईले आफू २०४२ सालदेखि कविता लेखनमा सक्रिय रहेको उल्लेख गर्दै यस कृतिमा ४२ वटा कविताहरू समेटिएको जानकारी गराए। उनले कार्यक्रममा ‘आजकल म जोगबनी जान्नँ’ शीर्षकको कविता वाचन गर्दै नवप्रतिभा पुरस्कारका लागि रु. ५१ हजार उपलब्ध गराउने घोषणा गरे।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घ कोशी प्रदेशका अध्यक्ष तिला लेकाली, साहित्य कला सङ्गम झापाका अध्यक्ष विष्णु न्यौपाने, डियर कल्याण साहित्य प्रतिष्ठान सुनसरीका अध्यक्ष विनोद घिमिरे ‘विवश’ लगायतले शुभकामना मन्तव्य राखेका थिए।

बेलबारी प्रज्ञा–प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदीले ‘इतिहास’, स्रष्टा समाज मोरङका अध्यक्ष जेबी थुलुङले ‘उडान’ र विराटनगरकी साहित्यकार सविना श्रेष्ठले ‘असार पन्ध्र’ शीर्षकका कविताहरू वाचन गरे। साहित्यकार रोहिणी रसिक, नवराज पोख्रेल नवशिला र एकराज भट्टराईले आफ्ना रचना वाचन  गरेका थिए।

संविधान सभा सदस्य मधु गुरुङ, कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी, कण लघुकथा मञ्चका अध्यक्ष दीप मङ्ग्राती, वडाध्यक्षहरू योगेन्द्र सुवेदी र कृष्ण गुरुङ तथा समाजसेवीहरू विदुर सुवेदी, नवराज भट्टराई, परशुराम सुवेदी, प्रताप थापा, धनजित पराजुली, विमला पाख्रेल, केशु विरही र अजित धिमाल लगायतको बाक्लो उपस्थिति थियो।

बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव उमा सिजापती र सहसचिव विमला सुवेदीको रहेको  थिए।