काठमाडौँ।राजावादीको आन्दोलनका क्रममा शुक्रबार तीनकुनेमा प्रहरीसँगको झडपमा परी घाइते भएका ७ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्राप्त जानकारी अनुसार त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा ५ जना र राष्ट्रिय ट्रमा सेन्टरमा २ घाइतेको उपचार भइरहेको छ ।
त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जका प्राडा मोहनचन्द्र रेग्मीका अनुसार गोली लागेका ५ जना घाइतेको आकस्मिक कक्षमा उपचार भइरहेको हो । उनले ती सबैको कम्मर मुनिको भागमा गोली लागेको र अवस्था स्थिर रहेको बताएका छन् ।
राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक बद्री रिजालका अनुसार त्यहाँ पनि गोली लागेका दुई जना घाइतेको उपचार भइरहेको छ । तीमध्ये पेटमा गोली लागेका एक जनाको अवस्था भने चिन्ताजनक रहेको छ । उनको आकस्मिक शल्यक्रिया भइरहेको निर्देशक रिजालले बताएका छन् । ट्रमा रहेका अर्का एक जनाको भने कुममा वगोली लागेको छ ।




















