कवि पनि स्वार्थी छ
जोसँग पनि जाति छ
हिजो हेमन्त आयो
भन्दै रमाउँथ्यो
आज
हेमन्त गयो
वसन्त आयो
भन्दै रमाइरहेछ।
हिजो कवि
हेमन्त ऋतु आउँदैछ,
शीतल सुख
छाया ल्याउँदैछ
पर्वतलाई
बर्फले सजाएर
मान्छेको मनलाई
पुलकित
बनाउँदै छ
भन्दै
कवितामा
रमाउँथ्यो
स्वार्थी कवि।
आज
वसन्त
आयो भन्दै
रमाउँदै छ।
युवा पुस्ताले
रंग बदलेको,
वनमा दिउँसै
साँझ ढलेको
मनमा
भाव बदलेको छ।
सुन्दर छन्
बसन्तका रंग,
प्रकृति स्वयंको
हेर्दै छु म उमंग
यस्तै यस्तै
लेख्यो कविले ।
शीतल हावा
बाटोमा आउँछ,
दिनलाई सोझै
रातमा मिलाउँछ।
आँसुले भरेको
हाम्रो दृष्टि,
बसन्त ऋतु छ
अनूपम
सृष्टिमा
लेख्यो कविले।
आज कवि
स्वार्थी बनेर
त्यही कलमको
मसी फेरेर
निर्धक्क लेख्दै छ-
बसन्त जाऊ
हेमन्त जाऊ,
बादल तिमी
पानी वर्षाऊ
जाडो लैजाऊ
हिउँ हटाऊ
हेमन्त भगाऊ
बसन्त आऊ
पृथ्वीको
वार्षिक गतिले
सूर्यको किरणमा
ल्याएको छ परिवर्तन
हरेक ऋतुमा
आएको परिवर्तन
समाजमा
समयले
ल्याएको
परिवर्तन जस्तै
हुने गर्छ।
कहिले
पृथ्वीको
उत्तरी गोलार्ध र
कहिले यसैको
दक्षिणी गोलार्धमा
भएको अनौठो
उल्टो सुल्टो परिवर्तन
स्वीकार्न
बाध्य छ मान्छे ।
दक्षिणी गोलार्धमा
बसे पनि
उत्तरी गोलार्धमा
बसे पनि
प्रकृतिसँग
शिर निहुराएर
परिवर्तनलाई
स्वीकार्न
बाध्य हुने गर्थ्यो
हिजोको मान्छे।
चिसो
हुनैपर्छ
आजको मान्छे
स्वार्थी मान्छे।
डा.देवी पन्थी
अयोध्या/ प्रवास




















