कविता -:आँसुको पैदल यात्रा


पर्खाइको सरल रेखा यसरी तन्किरहँदा

ढुङ्गामा प्राण भरिन्थ्यो होला

काँडाहरू मुस्कुराउँथे होलान्

तर कविता कविता बनिदिँदैनन् !


यहीबेला 

अनायास एउटा विम्ब आउँछ - काँडो !


वर्षौँदेखि घर आँगनमा समयका काँडाले 

खुसीका पाइतालाहरु घोचिएकै छन् ! 

सम्झन्छु- हजुरबुवा र हजुरआमाको पालादेखि 

जाडो/गर्मी छल्न घर छोड्ने पर्यटक झैँ 

अस्पतालको बजारमा आँसुको पैदल यात्रा गरिएकै छ

ज्ञात-अज्ञात रोगका काँडाले आहत हुँदै

शरीरको खरिद बिक्री चलिरहेकै छ ।


कविता लेख्ने प्रयास न हो !

झट्ट स्कुलका इतिहासका कक्षा सम्झन्छु - 

महिन्द्र मल्लका आदर्श कहानीहरु चित्रित हुन्छन् ! 

देख्छु- राजैराजाको वर्तमान मेरो देश 

जहाँ व्यथाको मन्दिरमा बाध्यताका मुद्रा चढाइन्छ ! 

र आफूले खाएर बचेको खुवाउने

उनीहरुका विचारका ताराहरू चमचमाइरहन्छन् !


उफ !

खै, कस्ता विम्ब, प्रतीकले कविता बनाउन सक्छन् ! 

अलमलमा छु

तर कविता लेखेर सुनाउनुछ - 

यस्तो कविता - 

जस्तो हिउँको बर्को ओढेको सगरमाथा 

पीडा फुलाएर मुस्कुराइरहेको लालीगुराँस 

देशको प्रसिद्धि देखाउने राराका ऐनाहरु 

प्रेम मगमगाउने लुम्बिनीका फूलहरु !


फेरि अचानक गिलो माटो झैँ

मन फितलो हुन खोज्छ! 

प्रिय कवि ! यी विम्बहरुले कविता बनाउन सक्छन् ?

कविताहरू कवितामा दर्ता हुन सक्छन् ? 


आज सोध्नु छ - 

कविताको सौन्दर्यलाई बेवास्ता गर्नेहरुलाई !

कविताको शक्तिलाई उपहास गरेर 

मान्छेका छाती टेक्ने राजा मान्छेहरुलाई सोध्नु छ - 

वास्तवमा यो कविता भयो कि भएन ?


© उमेश लुइटेल

मोरङ झोराहाट