विराटनगर ,नेपाली ढाका कपडाको प्रवद्र्धन गर्दै बजारिकरणलाई सघाउ पुर्याउने उद्देश्यले विराटनगरमा ढाका महोत्सव शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको महिला उद्यमी विकास समितिको आयोजनामा विराटनगरको जैन भवनमा बिहीबारदेखि शुरु भएको महोत्सव तीन दिनसम्म रहने छ ।
महोत्सवको उदघाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगामी नीति तथा कार्यक्रममा ढाका तथा घरेलु उद्योगको विकास र प्रवद्र्धनमा प्रदेश सरकारले विशेष प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन् ।
उनले कोशी प्रदेशमा कार्यरत निजामति कर्मचारी, शिक्षक तथा विद्यार्थीहरुलाई ढाकाका साथै घरेलु उद्योगबाट उत्पादित कपडालाई औपचारिक पोशाकका रुपमा प्रयोगमा ल्याउने विषयमा आफूले पहल गर्ने आश्वासन पनि दिएका छन् ।ढाका कोशी प्रदेशका विभिन्न ठाउँबाट उद्यमीहरुले प्रदर्शनीका लागि राखिएको छ।
शुक्रबारेदखि विभिन्न संवाद कार्यक्रमहरू पनि रहने छ।
महोत्सव उदघाटन कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघकी केन्द्रीय सदस्य अन्जु श्रेष्ठ, कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङ, पर्यटन,वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना लगायतले ढाका कपडा उद्योगको प्रवद्र्धन र बजारिकरणमा जोड दिएका थिए ।




















