१ कैदी म
आँसुले भरिएको छु सुस्तरी, पोखिन सक्छु
कालो पट्टी खोलेर न्याय गर, चोखिन सक्छु
आजीवन कैद गरेर नराख न तिम्रो मुटुमा
फैसला तिम्रो हुन्छ, रिहाइमा,तोकिन सक्छु ।
२ थोत्रो छाता
करङ फुस्किएको कालो थोत्रो छाता भएको छु
डुब्दै गरेको बैङ्को डोरम्याट खाता भएको छु
वर पिपल जस्तै जीउँन खोजेको हूँ चौतारीमा
दुर्भाग्य जीर्ण घरमाथिको जस्तापाता भएको छु ।
३ आँसु
कठोर शब्दहरु फुटेपछि, आँसु बोल्न थाल्छन्
मस्तिष्कमा शब्द भुटेपछि, आँसु बोल्न थाल्छन्
सिसाझैँ फुटेर मन ससाना, टुक्रामा छरिन्छ जब
कोमल नयनका साँध टुटेपछि, आँसु बोल्न थाल्छन् ।।
४ संझना छ
भौतिकता टुसाउँदैन, पराबाटै पलाएको हूँ
टुप्पोबाट होइन प्रभू, जराबाटै पलाएको हूँ
सम्पूर्ण संझना छ, धुलो हिलोमा लडेबढेको
युगयुगान्त गाउन पाऊँ, धराबाटै पलाएको हूँ ।
विराटनगर /१




















