विराटनगर, महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल क्रान्तिकारीका रोहित यादव सभापति पदमा निर्वाचित भएका छन्। १११८ मत प्राप्त गरेका यादवले नेविसंघका प्रज्वल विष्ट(हाक्कु)लाई ६३ मतले  विजयी भएका हुन्।

त्यसैगरी सचिव पदमा नेपाल विद्यार्थी संघकी सुदिक्षा थापा मगर विजयी भएकी छन् । भने उनले ७४१ मत प्राप्त गरी आफ्नो निकटतम प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियन नेपालका राकेश कुमार यादवलाई १५३ मतले पराजित गरिन्।

कोषाध्यक्षमा नेपाल विद्यार्थी संघकै रोशन कुमार पासवान, निर्वाचित सदस्यहरूमा गौतम कुमार मण्डल, मो साहिन, कौशलकुमार साह (तेली), सुसान्त बस्नेत, नविन बाबु तिवारी, रक्षक सुवेदी, एन्जिला काफ्ले, र रामदत कुमार मेहता रहेका छन्।

आगामी कार्यकालका लागि नवनिर्वाचित पदाधिकारीहरूले विद्यार्थीहरूको हित र क्याम्पसको विकासमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

क्याम्पसमा कुल ५९८४ जना मतदाता रहेकोमा २६३१ जनाले मात्र मतदान गरेको निर्वाचन कार्यालयका निर्वाचन अधिकृत डा. शुशिल अधिकारीले जानकारी दिएका छन् । मतदान गर्न ३६२३ जना विद्यार्थी अनुपस्थित भएका थिए ।

निर्वाचन कार्यालयले १५ वटा मतदान स्थल बनाईएको थियो । निर्वाचनमा प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उम्मेदवारी दिएका थिए ।

विराटनगरको स्नातकोत्तर (डिग्री) क्याम्पसको अध्यक्षमा क्रान्तिकारीका प्रितम साह र विराटनगर नर्सिङ क्याम्पसमा क्रान्तिकारीकै रोहित ताजपुरिया निर्वाचित भएका छन् ।