धरान , सुनसरीको बाम आन्दोलनका उर्वर र ऐतिहाँसिक स्थान बलाहाका ८० बर्षीय अग्रज चरा विज्ञ जीवनाथ पोखरेलले नेकपा (एमाले)को २०८२ सालको सदस्यता नविकरण गरेका छन् । त्यस्तै ९२ बर्षिय अग्रज नेता भवानी पोखरेलले पनि आफ्नो सदस्यता नविकरण गरे । शनिवार नेकपा (एमाले) इनरुवा नगरपालिका–५ वडा कमिटीले चलाएकाे को वडा केन्द्रित अभियानको अभिमुखीकरण कार्यक्रममा उनले सदस्यता नविकरण गरेका हुन् ।
उनिहरु जस्तै बलाहाका अग्रजहरू ७८ बर्षीय बाम बुद्धिजीवी अच्युत खतिवडा, ७४ बर्षीय बुद्धकुमार नेपाल, ७३ बर्षीय गणेश निरौला, ७० बर्षीय मननारायण श्रेष्ठलगायत व्यक्तित्वहरुले पार्टी सदस्यता नवीकरण गरेका छन् । यस्तै अग्रज श्यामप्रसाद भट्टराई, थानेश्वरी अधिकारी, गोबिन्द पोखरेल, ईश्वरी घिमिरे, हेमराज कोईराला, प्रेम खतिवडासँगै नयाँ पुस्ता ३० बर्षीय युवा सबिस पोखरेलले पनि सदस्यता नविकरण गराए । अभियानमा १५ जना अग्रजहरुको पार्टी नविकरण गरिएको वडाध्यक्ष पार्वतीराज पोखरेलले जानकारी दिए। नयाँ पुस्ता र पुराना पुस्ताका सबैलाई पार्टी सदस्यता दिने तयारी गरिएकाे पार्टीले जनाएकाे छ ।
वडा कमिटीका अध्यक्ष पार्वतीराज पोखरेलको अध्यक्षतामा सम्पन्न अभियानमा नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोग सदस्य पोस्ट नेपाल प्रमुख आतिथ्यतामा भएको थियो । पछिल्लो पुस्ताका लागि अग्रजहरुको अनुभव, उनिहरुले पार्टीलाई दिएको योगदान महत्वपूर्ण हुने नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा प्रमुख अभियान्ता लोकेश निरौलाले बताएका छन् । कार्यक्रममा जनताको आशा र भरोसा युक्त बलियो पार्टी निर्माण गर्दै देश विकास गर्न टोल केन्द्रीत अभियान चलाइएको उनले बताए । वडामा ५ हजार मतदाता छन् । ३ प्रतिशत सदस्यता बढाउने अभियान रहेकाे उनले बताए ।
कार्यक्रममा प्रमुख अभियान्ता निरौला, नेकपा प्रदेश कमिटी सदस्य कालुराम गुरुङ, सुनसरी जिल्ला लेखा आयोग सचिव ईश्वरी घिमिरे, प्रदेश सल्लाहकार सदस्य गोबिन्द पोखरेल, जिल्ला लेखा आयोग सदस्य गिता गौतम, जिल्ला सल्लाहकार सदस्यहरु केदार पोखरेल,अन्जनी न्यौपानेलगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत कैलाशपति चौधरीले गरे भने कार्यक्रम संचालन लालबहादुर श्रेष्ठको रहेको थियो ।




















