विराटनगर,नेकपा एमाले मोरङको अध्यक्षमा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकाल समुहका अध्यक्षसहित सवै पदाधिकारी निर्वाचित भएका छन् ।

शुक्रबार साँझ सम्पन्न भएको मतगणनाको परिणाम अनुसार अध्यक्षमा अजम्बर राईले ३९ मतले संस्थापन पक्षका राजकुमार ओझालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन्।

राईले ४४६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्  । ओझाले पनि प्रतिष्पर्धी ४०७ मत प्राप्त गरे भने उपाध्यक्षमा सागर थापा निर्वाचित भएका छन् । थापाले ४२२ मत प्राप्त गरेका हुन् । संस्थापन पक्षकी शान्ति लिम्वुले ३९१ मत प्राप्त गरेकि हुन्।

सचिवमा सोमराज थापा निर्वाचित भएका छन् । थापाले ४६२ मत प्राप्त गर्दा अर्का उम्मेदवार रविन थापाले ३६८ मत प्राप्त गरेका छन् । सचिवमा निर्वाचित भएका सोमराज थापा निवर्तमान उपसचिव हुन् । उनले निवर्तमान् सचिव रहेका रविनलाई पराजित गरेका हुन् ।

उपसचिवमा सन्तोष बान्तवा राई निर्वाचित भए । उनले ४९० मत प्राप्त गरेका छन् । उपसचिवका प्रतिष्पर्धी इर्जालाल राजवंशीले ३११ मत पाएका हुन् ।

उपसचिवमा थोरै मतले उषा झा निर्वाचित भइन् । जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख रहेकी झाले ४१८ मत प्राप्त गर्दा विराटनगर महानगरपालिकाकी उपप्रमुख रहेकी उपसचिवकै अर्की उम्मेदवार शिल्पा निराला कार्कीले ४०५ मत प्राप्त गरिन् । 

एमाले मोरङको १६५ सदस्यीय जिल्ला कमिटीका लागि भएको निर्वाचनमा ९११ मतदाता मध्ये ८८८ जनाले मतदान गरेका थिए ।