विराटनगर ,नेकपा एमाले मोरङको १०औं जिल्ला अधिवेशनमा पदाधिकारीतर्फको मतगणनाको मध्यतिर आइपुग्न लाग्दा संस्थापन इतर रहेका उम्मेदवारहरूले अग्रता कायम राखेका छन् । सुरुवाती गणनादेखि नै उनीहरूले अग्रता लिएका छन् ।
एमाले केन्द्रीय सल्लाहकार कमिटीका सदस्य विनोद ढकालको समर्थन पाएको इतर समूहबाट पदाधिकारीका सवै उम्मेदवारको मत अगाडि रहेको हो।
शुक्रबार विहान प्राप्त भएको ताजा मतपरिणाम अनुसार ४३९ मत गणना सम्पन्न हुँदा ढकाल समर्थित अध्यक्षका उम्मेदवार अजम्बर राईले २२५ मत प्राप्त गरेका छन् । संस्थापन समर्थित उम्मेदवार राजकुमार ओझा २३ मतले पछाडि छन् । उनले २०२ मत प्राप्त गरेका हुन् ।
उपाध्यक्षमा पनि इतर समूहकै सागर थापाले अग्रता कायम गरेका छन् । उनले २२८ मत पाउँदा उपाध्यक्षकी अर्की उम्मेदवार शान्ति लिम्बूले १८२ मत मात्रै पाएकी छन् ।
सचिवमा पनि इतर पक्षकै सोमराज थापा अगाडि छन् । उनले २३० मत प्राप्त गर्दा संस्थापन पक्षका रविन थापाले १८० मत ल्याएका छन् ।
पदाधिकारीतर्फ उपसचिवका उम्मेदवार सन्तोष वान्तवाले ठूलो अग्रता कायम गरेका छन् । वान्तवाले २३९ प्राप्त गरेका हुन् । संस्थापन पक्षका इर्जालाल राजवंशीले १६३ मत पाएका हुन् ।
पहिलो १०० मत गन्दा अगाडि देखिएकी उपसचिवकी उम्मेदवार शिल्पा निराला कार्की त्यसपछि थोरै मतान्तरले लगातार पछि परेकी छन् । उनले २०४ मत प्राप्त गरेकी छन् । इतर समुहकी उषा झाले २०७ मत प्राप्त गर्दै अगाडि छिन् ।
प्रत्येक प्रतिनिधिले पदाधिकारी, खुल्ला सदस्य, भुगोल सदस्य र युवा तथा महिला सदस्यहरूको अलग–अलग मतपत्रमा मतदान गरेका थिए । मतदान गरेपछि सवै मतपत्र एउटै मतपेटिकामा खसाउने व्यवस्था निर्वाचन कमिटीले गरेको थियो ।
पहिलो मतपेटिकामा रहेका पदाधिकारी र सदस्यहरूको सवै मतपत्र गणना गरेपछि मात्रै अर्को मतपेटिकाको मतपत्र गणना गर्ने सहमति भएको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले जानकारी दिए ।
मतगणना अघि अध्यक्षसहित पदाधिकारीका उम्मेदवारहरूबीच ६ बुँदे आचारसंहितामा सहमति भएपछि गणना सुरु गरिएको हो । जसमा मतगणना स्थलमा गणना कार्यमा बाधक तथा अव्यवस्था हुने गतिविधि प्रत्यक्ष वा परोक्ष रुपमा गर्न निषेध गरिएको हो।
अध्यक्षसहितका उम्मेदवारहरूले पहिले एउटा मतपेटिकाको मतपत्र खन्याएर मिलाउने र त्यसलाई गणना गरेपछि अर्को मतपेटिकाको गणना गर्ने सहमति गरेका थिए ।
१६५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्न ओझा र राईको नेतृत्वमा प्यानलै प्रतिष्पर्धा भएको थियो ।
निर्वाचन कमिटीका अनुसार ९११ जना अधिवेशन प्रतिनिधिहरू मतदाता कायम भएको अधिवेशनमा ८८८ जनाले (९७ प्रतिशत) मतदान गरेका थिए । २३ जना प्रतिनिधि भने मतदानमा अनुपस्थित रहेका थिए ।




















