विराटनगर,विराट गोल्ड कप फुटबल टुर्नामेन्ट आयोजक समितिले मंगलबार शान्ति सुरक्षाको बारेमा निकायका पदाधिकारीहरू सँग छलफल भएको छ।
जिल्ला सुरक्षा निकाय मोरङ र कोशी प्रदेश पदाधिकारी छलफल कार्यक्रममा सहभागी भएका थिए । विराट गोल्ड कप टुर्नामेन्ट २०८१ का संयोजक एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष नविन रिजालले सुरक्षा निकायका पदाधिकारीहरूलाई स्वागत गर्दै ७ हजार ५ सय दर्शक अटाउने क्षमता रहेको विराटनगरको शहिद रंगशालामा क्षमता भन्दा ४ गुणा बढी दर्शक आइदिँदा सुरक्षा व्यवस्था डगमगाउने भएकोले त्यसमा सहयोग गरिदिन उद्देश्यका साथ छलफल कार्यक्रम आयोजना गरिएको बताएका छन् ।
दर्शक बढी आइदिँदा रंगशालाको क्षमताले भ्याउन नसक्ने र दर्शक कम आइदिँदा विराट गोल्ड कप फुटबल टुनामेन्ट घाटामा जाने भएकोले बढी भन्दा बढी दर्शक शहिद मैदान भित्र्याउने आयोजकको अपेक्षा रहेको संयोजक रिजालले सुरक्षाकर्मीलाई जानकारी गराएका छन् । संयोजक रिजालले ७ हजार ५ सय दर्शक अटाउने विराटनगरको शहिद रंगशालामा ८ वटा प्रवेश द्वार रहेको भए पनि खेल सञ्चालन भइरहेको बेला ३ वटा मात्र प्रवेश द्वार खुल्ला गरिने गरिएको बताएका हुन्।
२०८१ फागुन १९ देखि २८ गतेसम्म शहिद मैदानमा दिवा रात्री कालिन समयमा फर्डलाइटमा आयोजना हुन लागेको विराट गोल्ड कप फुटबल टुर्नामेन्टम नेपालका ८ र भारतका २ गरी १० टिमको सहभागिता रहने भएकोले खेलाडी, दर्शक, दर्शकको सवारी साधन र आयोजक समितिको निजी सुरक्षा गार्डलाई सुरक्षा प्रदान गरिदिन सुरक्षा निकायको आवश्यकता रहेकोले सहयोग गरिदिन सुरक्षा निकायलाई आग्रह गरेका छन् ।
२०७४ सालमा नविन रिजाल मोरङ उद्योग व्यापार संघको महासचिव रहेको बेला रिजालकै संयोजकमा आयोजना गरिएको विराट गोल्ड कप फुटबल टुर्नामेन्ट हेर्न ७ हजार ५ सय दर्शक अटाउने क्षमता रहेको शहिद रंगशालामा २५ हजार भन्दा बढी दर्शक आइदिँदा सुरक्षा चुनौती बढेकोले त्यस बारे सुरक्षा निकायलाई जानकारी दिए।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरियाले ७ हजार ५ सय दर्शक अटाउने क्षमता रहेको मैदानका लागि ७ हजार ५ सय भन्दा बढी टिकट विक्री नगर्न आयोजक समितिका संयोजक रिजाललाई सुझाव दिएका हुन् ।
एसपी चिमरियाले दर्शक र दर्शकको सवारी साधनको सुरक्षाका लागि शहिद रंगशाला आसपासको क्षेत्रमा ३० देखि ४० वटा सिसी टिभी क्यामरा जडान गर्न सुझाव दिएका छन् । विराट गोल्ड कप फुटबल टुर्नामेन्ट आयोजक समितिले सुरक्षा निकायसँग निरन्तर सम्पर्कमा रहने गरी फोकल पर्सन तोकेर त्यसको नाम जिल्ला सुरक्षा समितिलाई उपलब्ध गराउन सुझाव दिए। संयोजक रिजालले दर्शक र दर्शकको सवारी साधनको सुरक्षाका लागि ४० वटा सिसी टिभी क्यामरा जडानको काम सुरु भइसकेको सुरक्षा समितिलाई जानकारी दिएका छन् ।
संघका कार्यकारिणी समिति सदस्य ओम शर्मा र पूर्व खेलाडी कुमार महर्जनलाई सुरक्षा निकाय संघ सम्पर्क गर्न फोकल पर्सन तोकेको संयोजक रिजालले सुरक्षा समितिलाई जानकारी गराए । भने कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजन अधिकारी, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरिया, राष्ट्रिय अनुसन्धान मोरङका प्रमुख एसपी तिलक प्रसाई, सशस्त्र प्रहरी डिएसपी सुधिर खतिवडा, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका वरिष्ठ प्रहरी नायव निरीक्षक यज्ञराज शर्मा, विराट गोल्ड कप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाही, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिल साह छलफलमा सहभागी थिए ।




















