विराटनगर,कोशी प्रदेश सरकारको आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न निर्णयहरू गरेको छ। सरकारका प्रवक्ता समेत भएका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार बैठकले कोशी प्रदेश आयोजना बैंक व्यवस्थापन कार्यविधि २०८१ स्वीकृत गरेको छ। योसँगै कोशी प्रदेशमा अब आयोजना छनोट गरी बजेटमा पेश गर्न सजिलो हुनेछ। यसले अनावश्यक रुपमा बाहिरबाट योजना ल्याउने र समावेश गर्ने प्रवृत्ति अन्त्य हुने मन्त्री भण्डारीले जानकारी दिए। त्यस्तै आजको बैठकले सुरक्षा निकायको भवन निर्माणको बजेट बाँडफाँडसमेत गर्ने निर्णय गरेको हो। यसैगरी सामाजिक विकास संस्था ऐन २०७५ लाई संशोधन गरी प्रदेश सभामा पेश गर्ने निर्णय समेत भएको छ। यो प्रदेश सभामा पेश गर्नु अघि मन्त्रिपरिषद्को कानुन न्याय तथा मामिला समितिमा पेश गरिनेछ। मन्त्री भण्डारीले आर्थिक वर्ष ८२ । ८३ का लागि प्रदेश कार्यान्वयन गरिने समपुरक र विशेष अनुदानको योजना वा कार्यक्रम राष्ट्रिय योजना आयोगले निर्धारण गरेको विद्युतीय प्रणालीमा प्रविष्टमा समावेश गर्ने जानकारी दिएका छन् ।




















