रोमा छेत्री, भारत


चिया कमानका बगानमा चियाको नयाँ मुना पलाउन थालेको छ। कति ठाउँमा मुना नपलाए पनि कति चिया कमानमा भने चियाको मुना पलाउन थालेको छ। यो चियाको मुना टिपाइ पहिलो सिजन हो। पहिलो उत्पादन गुण स्तरीय हुने गर्दछ र यो पहिलो टिपाइको चिया महङ्गो मूल्यमा बिक्री हुने गर्दछ। इलाममा चियाको पहिलो टिपाइ सुरु भइसकेको छ भने दार्जिलिङ क्षेत्रका कतिपय चिया कमानतिर पनि पहिलो टिपाइ सुरु भइसकेको जानकारी प्राप्त छ।

तर भारतको सिलिगुड़ी देखि प्रायः १३.५ किमी टाढ़ा रहेको घैयाबारी चिया कमानका श्रमिकहरूले यसवर्षको पहिलो चिया टिप्न अस्वीकार गरेको थाहा लागेको छ। यो पहिलो पत्ती टिपाइ अस्वीकारका कारणहरु मध्ये अन्यतम प्रमुख कारण हो बोनसको झ्याउला। अहिलेसम्म पनि घैयाबारी चिया कमानका श्रमिकहरूको बोनसको छिनाफाना भएको छैन। त्यसबाहेक पनि न्यूनतम मजदूरी ऐन लागु गरिनाका साथै विविध मागहरू थाँतीमै रहेको छ। यिनै मागहरू फेरि उठान गर्दै चियाकमाका श्रमिकहरूले यसवर्षको पहिलो पत्ती टिप्न अस्वीकार गरेका समाचार जान्नमा आएको छ।

गत शुक्रवारको दिन कमानका प्रबन्धक पक्षले यसवर्षको पहिलो पत्ती टिप्ने निर्दैश दिए पनि आफ्नो पुरानो मागमा अडिग रही पत्ती टिप्न अस्वीकार गरे। घैयाबारी चियाकमानका श्रमिकहरू एउटै गुनासो के छ भने बोनसको लागि प्रति वर्ष जहिले पनि सड़कमा आर्लिनुपर्छ। बोनसको निम्ति नखाइ नखाइ तल मधेसमा श्रमिक भवन धाउनुपर्छ। अब फेरि पनि दसैँको छेकमा बोनसकै लागि छटपटिनु नपरोस् भनेर यो अस्वीकार गरेका हुन् भन्ने श्रमिकहरूको भनाइ छ। चिया श्रमिकहरूका अर्को पनि गुनसो के छ भने, यस वर्षको चार प्रतिशत बोनस नपाएको पनि गुनासो व्यक्त गरेका छ्न। उनीहरूको भनाइ के छ भने, रहल चार प्रतिशत बोनस पहिलो पत्ती टिपाइ अगावै भुक्तान गरियोस् भन्ने माग रहेको छ।

वर्षको पहिलो पत्ती टिपाइ कुनै पनि कमानको निम्ति ठूलो आय श्रोत हो। यसरी वर्षको सुरुमै पत्ती टिपिएन भने चिया कमानलाई ठूलो घाटाको सामना गर्नुपर्नेछ।।