ताप्लेजुङ,सदरमुकाम फुङलिङमा शनिवार बेलुका ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच भएको झडपमा दुवैतर्फका गरी दुई दर्जन भन्दा बढी घाइते भएका छन् । घाइतेमध्येका ४ जनालाई थप उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालले रेफर गरेको हो ।

उनीहरूलाई धरानको घोपा लगिएको आन्दोलनरत समूहका अगुवा किर्तिमान मादेनले जानकारी दिएका छन् ।

प्रहरी नायव उपरिक्षक (डीएसपी) रवि रावलका अनुसार सुरक्षाकर्मीतर्फ १२ जना घाइते भएका छन् । उनीहरू मध्येका एक जनालाई जिल्ला बाहिर पठाइएको छ।अरुको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । आन्दोलनत समूह तर्फपनि त्यतिनै सङ्ख्यामा रहेको प्रारम्भिक जानकारी रहेको रावलले बताएका छन्  ।

रातको समयमा झडप भएको र कतिपय जिल्ला बाहिर गएरपनि उपचार गराइ रहेकाले यकिन तथ्यांक नभएको मादेनले बताएका हुन्  । प्रहरीले हुलहुज्जत गरेको अभियोगमा १५ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा आन्दोलनको अगुवाई गरिरहेका नविन पोमु लगायत रहेका छन् । भने प्रहरीले नाम खुलाएको छैन।