खोटाङ ,पूर्वकै प्रसिद्ध धार्मिक स्थल हलेसी महादेवस्थानस्थित बजार क्षेत्रमा भिषण आगलागी भएको छ । दमकलको अभावमा आगो नियन्त्रण गर्न असम्भव रहेको स्थानीयले बताएका छन् ।
स्थानीय पदम राईको घरमा साँझ ७ बजेतिरबाट आगो लागेको र त्यहाँ रहेका ग्यास सिलिण्डर बिस्फोट भएको जानकारी दिएका छन् ।
आगो नियन्त्रणमा लिन स्थानीय र प्रहरी खटिएपनि पानीको अभावमा कठिन भइरहेको जनाएका छन्।
पदम राईको घरबाट फैलिएको आगो नजिककै रहेका अन्य घरमा पनि सल्किएको छ । हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईले ट्याक्टरबाट पानी ओसारेर आगो नियन्त्रण गर्ने प्रयास भइरहेको बताएकि छन् ।
आगो नियन्त्रणका लागि उदयपुरको कटारीबाट दमकल मगाइएपनि त्यो आउन चार घण्टा बढि समय लाग्ने भएकोले हलेसी बजारका अन्य घरहरू थप जोखिममा परेका छन् ।
प्रहरीले समेत बजार क्षेत्रको आगो नियन्त्रणबाहिर रहेको जनाएको छ । आगलागीका क्रममा ग्यास सिलिण्डर लगातार पड्किरहेको स्थानीय विदुर दाहालले जानकारी दिएका छन् ।




















