ताप्लेजुङ / सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङले उपभोक्तालाई वन ऐन तथा नियमावलीसम्बन्धी अनुशिक्षण दिन थालेको छ । वन ऐन तथा वन नियमावलीमा भएको व्यवस्थाबारे जानकारी गराउन जिल्ला महासङ्घले स्थानीय उपभोक्तालाई अनुशिक्षण दिन थालेको हो ।
महासङ्घले सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध स्थानीय उपभोक्तालाई वन ऐन तथा नियमावलीसम्बन्धी अनुशिक्षण दिलाउन थालेको हो । वन ऐन तथा नियमावलीमा भएको व्यवस्था साथै अधिकारबारे आधारभूत जानकारी गराउने उद्देश्यले उपभोक्तालाई अनुशिक्षण दिन थालेको जिल्ला महासङ्घका अध्यक्ष सुरज ओझाले बताए ।
समूहमा आबद्ध रहेका उपभोक्तालाई नै वन ऐन तथा नियमावलीबारे आधारभूत जानकारी नहुँदा वन संरक्षण र व्यवस्थापनमा चुनौती देखिएपछि अनुशिक्षण दिन थालेको ओझाले बताए । उनकाअनुसार ऐन नियमावलीसम्बन्धी आधारभूत ज्ञान अर्थात् जानकारी उपभोक्ताले लिन सकेमा वनको संरक्षण तथा व्यवस्थापनमा सहयोग पुग्ने विश्वास महासङ्घले राखेको छ ।
पछिल्लो समय बढ्दो वन विनाश तथा जलवायु परिवर्तनको असर मानव र सजीव प्राणीजगतमा पर्दै गएको बेला वन तथा वातावरण संरक्षणमा महासङ्घ क्रियाशील रहँदै आएको पनि जिल्ला अध्यक्ष ओझाले बताए ।
वनको संरक्षण गर्न सकेमा मात्र वातावरण सन्तुलित हुने र सन्तुलित वातावरणले मानव तथा प्राणी जगतलाई सहज हुने उहाँको भनाइ छ । जलवायु परिवर्तनको असरबाट बच्न र वातावरणलाई बचाउन वनको संरक्षण गर्नु आवश्यक भएकाले पनि अनुशिक्षण आवश्यक बनेको उनले बताए ।
महासङ्घले जिल्लाका सबै पालिकास्तरीय सामुदायिक वन उपभोक्ता समूहको प्रतिनिधित्व रहनेगरी करिब २० वटा समूहका ४० जना उपभोक्ताको सहभागितामा फुङ्लिङमा मङ्गलबार अनुशिक्षण गोष्ठी आयोजना गरी ऐन, नियमबारे जानकारी गराएको छ ।
अनुशिक्षण गोष्ठीमा महासङ्घका जिल्ला अध्यक्ष ओझा र एन्साब नामक संस्थाका वन अधिकृत आयुष भट्टराईले सहजीकरण गरेका थिए ।
गोष्ठको उद्घाटनमा जिल्ला समन्वय समिति ताप्लेजुङका उपप्रमुख कृष्णप्रसाद लिङ्खिम, सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराई, नापी कार्यालयका प्रमुख रजिता श्रेष्ठ, डिभिवन वन कार्यालयका वन अधिकृत देवचन्द्र गोइत लगायतको उपस्थिति रहेको थियो । गोष्ठी वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको सहकार्यमा आयोजना गरिएको महासङ्घका जिल्ला कोषाध्यक्ष घनेन्द्र थापाले जानकारी दिए ।





















