विराटनगर । पर्यटक भिसामा नेपाल आएर धार्मिक तालिम तथा पास्टर उत्पादनसम्बन्धी गतिविधि सञ्चालन गरेको आरोपमा मोरङबाट पक्राउ परेका २४ जना दक्षिण कोरियाली नागरिकलाई नेपाल सरकारले देश निकाला गरेको छ।

अध्यागमन विभागका अनुसार उनीहरूको भिसा रद्द गरी जनही ५० हजार रुपैयाँ जरिवाना असुल गरेको हो। साथै, नेपालबाट प्रस्थान गरेको मितिदेखि तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ।

सुन्दरहरैँचा नगरपालिका–७ स्थित नेपाल न्यू कोभेनेन्ट कलेजमा धार्मिक तालिम, प्रशिक्षण तथा दीक्षान्त समारोह सञ्चालन गर्ने तयारी भइरहेको सूचनाका आधारमा स्थानीय प्रशासन र प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रशासन कार्यालय मोरङले असोज २३ गते उनीहरूलाई कारबाहीका लागि अध्यागमन विभागमा पठाएको थियो। विभागले पर्यटक भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न भएको ठहर गर्दै जरिवाना र निष्कासनको निर्णय गरेको जनाएको छ।